
काठमाडौँ । ओपनर विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चौथो खेलसम्म अपराजित यात्रा कायमै राखेको छ ।
कीर्तिपुरमा सुदूरपश्चिमले बिहीवार आफ्नो चौथो खेलमा लुम्बिनी लायन्समाथि सात विकेटको जितसँगै अपराजित यात्रा कायमै राखेको हो ।
ओपनर विनोदले अर्धशतकीय प्रेरणामा सुदूरपश्चिम चौथो जित निकाल्दै प्लेअफनजिक पुग्यो । यता, चौथो खेलमा तेस्रो हार सामना गरेको लुम्बिनी भने दबाबमा परेको छ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले एक सय ४४ रनको मध्यम लक्ष्य दियो ।
सुदूरपश्चिमले १८.२ ओभरमा मात्र तीन विकेट गुमाउँदै लक्ष्य भेट्टायो । दोस्रो ओभरमै ओपनर जोश ब्राउन ९ रनमै आउट भए । सुदूरपश्चिमको शुरुवात राम्रो हुन सकेन ।
त्यसपछि क्रिस लिन १६ रनमा आउट हुन पुगे । पावरप्लेमा दुई विकेट पतन हुँदा सुदूरपश्चिमले ४४ रन जोड्यो । तर, ओपनर विनोदले तेस्रो विकेटका लागि आरिफ शेखसँग ९९ रनको साझेदारी गर्दै जितको आधार बनाए ।
विनोद ६९ रनमा अविजित रहे । आरिफ १८ औं ओभरमा तिलकराज भण्डारीद्वारा आउट भए । आरिफ आउट हुँदा सुदूरपश्चिमलाई ६ रन आवश्यक थियो । उनले ३७ बलमा चार चौका र एक छक्का प्रहार गरे । विनोदले ४९ बलमा पाँच चौका र चार छक्का हिर्काए । सात बलर प्रयोग गरेको लुम्बिनीले लक्ष्य रक्षा गर्न सकेन ।
रुबेन ट्रम्पलमेन, अभिशेष गौतम र तिलकले समान एक विकेट लिँदा अन्य बलर विकेटविहीन रहे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी १९.४ ओभरमा एक सय ४३ रनमा अलआउट भयो । एक समय लुम्बिनी राम्रो योगफलतर्फ अग्रसर देखिन्थ्यो ।
अन्तिम पाँच ओभरमा २८ रन जोड्दा सात विकेट नै गुमायो र सामान्य योगफलमै सीमित भयो । कप्तान रोहित पौडेलले ३६ बलमा ३५ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत रह्यो । विकेटकिपर दिलीप नाथले ३१ रन जोडे । यी दुईबीच दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे । जुन सर्वाधिक ठूलो सहकार्य रह्यो ।
त्यसपछि राम्रो साझेदारी बन्न नसक्दा लुम्बिनी सामान्य रनमा समेटियो । तेस्रो ओभरमै लुम्बिनीले ओपनर डार्सी सटलाई १८ रनमा गुमायो । अर्का ओपनर सुमित श्रेष्ठ पनि १८ रनमै आउट भए । पावरप्लेमा एक विकेट गुमाएको लुम्बिनीले ५० रन जोड्दै राम्रो शुरुवात ग¥यो ।
त्यसपछि सुदूरपश्चिमले किफायती बलिङ ग¥यो । लुम्बिनीले १३.४ ओभरमा एक सय रन बटुल्यो । रोहित र दिलीपले तेस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै सय रनको आँकडा पार गराएका हुन् । १५औं ओभरमा हेमन्त धामीले रोहितलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए ।
त्यसपछि लुम्बिनीको साझेदारी नै बन्न सकेन । लगातार विकेट पतन भयो । अफगानी ब्याटर गुल्बदिन नइबले ११ रन जोडे । अविनाश बोहराले उनलाई विनोदबाटै क्याच गराए । त्यसपछि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । सुदूरपश्चिमको बलिङमा अविनाश र हरमितले समान तीन तथा हेमन्तले दुई र स्कट कुग्गेलिनले समान एक विकेट लिए ।







