
काठमाण्डौ। सिरहाको सुखीपुर नगरपालिकामा दलित युवकले गैरदलित युवतीसँग प्रेम विवाह गरेको भन्दै प्रहरीले रातभर थुनामा राखेको पाइएको छ ।
सुखीपुर नगरपालिका-५ का २१ वर्षीय अमृत कुमार मोचीलाई प्रहरीले गैरकानुनी ढंगले थुनामा राखेको पाइएको हो । अमृतलाई शुक्रबार राति ११ बजे सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पुल छेउबाट इलाका प्रहरी कार्यलय,बन्दिपुरले नियन्त्रणमा लिइ सिधैं इलाका प्रहरी कार्यालय, गोलबजार पुर्याएको थियो ।
गोलबजारमा रातभर हिरासतमा राखिएका उनलाई स्थानीय अगुवाहरूको चासोपछि शनिबार साँझ मात्रै आफन्तको जिम्मामा छाडिएको छ । अमृतसँगै उनकी पत्नी धनगढीमाई नगरपालिका-२ की २० वर्षीया कोसिका कुमारी साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
रातभर गोलबजारस्थित सेफ हाउसमा राखिएकी उनलाई पनि अमृतकै परिवारलाई जिम्मा लगाइएको छ । विगत एक वर्षदेखि प्रेममा रहेका उनीहरूलाई शुक्रबार विवाहका गराउनका लागि अमृतका आफन्त र गाउँलेले जनकपुरस्थित जानकी मन्दिर लगेका थिए । तर, त्यहाँ विवाह भइरहेकै बेला युवतीका बुबा फुलगेन साहसहित १५-२० जनाको समूह पुगेर विवाद गर्न खोजेपछि प्रहरीले युवक र युवतीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, धनुषामा लगिएको थियो । धनुषा प्रहरीमा युवक र युवती दुवैले उमेर पुग्ने कागजात देखाउँदै आफूहरू राजीखुसी विवाह गर्न चाहेको बताएपछि प्रहरीले दुवैलाई युवकको परिवारलाई जिम्मा लगाइदिएको थियो । उनीहरूले आफूहरू असुरक्षित रहेको बताएपछि धनुषा प्रहरीले गाडीमै कमला पुलसम्म पुर्याइदिएको थियो ।
तर, सिरहा प्रहरीले भने आफूहरूलाई पुलमै छाड्दै छोरा र बुहारीलाई जबर्जस्ती अपहरण शैलीमा नियन्त्रणमा लिएको अमृतकी आमा रूकमिनी मोचीले बताइन् । प्रहरी प्रभावमा परेर आफ्नो छोरा-बुहारीलाई छुटाउने नियतले यस्तो व्यवहार गरेको उनको आरोप छ ।
तर, सिरहा प्रहरीले भने शान्ति सुरक्षाका लागि युवक र युवतीलाई नियन्त्रणमा राखिएको दाबी गरेको छ । ‘उनीहरूलाई छाड्दा दुई पक्षबीच विवाद हुन सक्थ्यो, त्यसैले नियन्त्रणमा राखेका हौं,’ जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए, ‘यसमा अरू त्यस्तो केही छैन ।’
युवक र युवती दुवैलाई युवकको परिवारको जिम्मा लगाइए पनि उनीहरू अझै गोलबजार प्रहरी कार्यालयबाट निस्कन सकेका छैनन् । युवकका गाउँले छिमेकी रामउदगारका अनुसार, युवतीका बुबासहित एउटा समूह प्रहरी कार्यालयको गेटमै रहेको र यहाँबाट निस्के विवाह हुनसक्ने बताए । तर, घरसम्म पुर्याइदिनका लागि प्रहरीलाई पटक-पटक आग्रह गर्दा पनि नसुनेको र आफैं जान भनिरहेको बताए ।







