तेह्रथुम। नेकपा एमालेको ११औँ महाधिवेशनका लागि तेह्रथुमबाट नौ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

लामो रस्साकस्सीपछि सर्वसम्मतरुपमा महाधिवेशन प्रतिनिधिहरू छनोट गरिएको हो। खुलातर्फ ५ जना, महिला २ जना, युवा १ जना र दलित १ जना गरी जम्मा ९ जना महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका निर्वाच अधिकृत सन्जय ईस्बोले जानकारी दिए।

जिल्ला अध्यक्ष शिवप्रसाद ढुंगाना भने महाधिवेशन प्रतिनिधिमा अँटाएनन्। ढुंगानाले खुलातर्फ महाधिवेशन प्रतिनिधिकालागि उम्मेदवारी दिएका थिए।
निर्वाचन समितिका अनुसार खुलातर्फ तेजमान कन्दङवा, बाबुराम थापा, यादवबहादुर खापुङ, लक्ष्मण तिवारी र सन्जयकुमार तुम्बाहाम्फे निर्वाचित भएका छन्।

५ जना निर्वाचित हुने यो पदका लागि ९ जनाको उम्मेदवारी परेको थियो। उनीहरूमध्ये जिल्ला अध्यक्ष शिवप्रसाद ढुंगाना, नेताहरू होमबहादुर खापुङ, अर्जुन ढुंगाना, गणेशकुमार सेनेहाङले उम्मेदवारी फिर्ता लिएका छन्।

जिल्ला अध्यक्ष भइसकेका कन्दङवा र तिवारी यसअघि प्रदेश सभा सदस्य समेत थिए। थापा व्यवसायी हुन् । खापुङ मेन्छ्यायेम गाउँपालिकाको अध्यक्ष छन् भने तुम्बाहाम्फे म्याङलुङ नगरपालिकाको मेयर छन्।

त्यस्तै, महिलातर्फ छविमाया तिम्सिना र तारा खरेल ढकाल महाधिवेशन प्रतिनिधि बनेका छन्। २ जनाका लागि ८ जनाको उम्मेदवारी परेको थियो। उनीहरूमध्ये जमुना कार्की, लक्ष्मीदेवी खत्री, रेनुका भट्टराई, तारा कार्की गुरुङ, शमिकला लिम्बु र तारादेवी संग्रौलाले उम्मेदवारी फिर्ता लिए।

युवातर्फ छथर गाउँपालिका अध्यक्ष समेत रहेका सन्तोष तिगेला महाधिवेशन प्रतिनिधि चयन भएका छन्। उनी पार्टीको उपाध्यक्ष समेत हुन्।
त्यस्तै, दलिततर्फ कमला दर्नाल महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन्। उनी हाल प्रदेशसभाकी सदस्य समेत हुन्।

दलित र युवातर्फ १-१ पदका लागि ३-३ जनाको उम्मेदवारी परेको थियो। युवातर्फ राजकुमार थापा र सुनिल सम्बाहाम्फेले उम्मेदवारी फिर्ता लिए भने दलिततर्फ प्रविन मोते र कुमार विश‌खेले उम्मेदवारी फिर्ता लिए।

तपाईको प्रतिक्रिया