काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए। असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो ।
विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो । हाल विवेकशील साझा पार्टीको अध्यक्ष समीक्षा बास्कोटा र महासचिव रञ्जु दर्शना छन् । रास्वपा सभापति रवि लामिछाने छन् । उनी सहकारी ठगी प्रकरणको अभियोगमा जेलमा रहेकाले हाल डीपी अर्यालले पार्टी हाँकिरहेका छन् ।
पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व रास्वपाकै रहने गरी विवेकशील साझाले नि:शर्त स्वीकार गरेको छ । राष्ट्रिय सभामा गृहमा हुने एकता घोषणा सभालाई रास्वपा र विवेकशील साझा पार्टीका उच्चपदस्थ नेताहरुले सम्बोधन गर्नेछन् । सोही कार्यक्रममा विवेकशील साझाले आफ्नो विपत् कोषमा रहेको ३३ लाख रुपैयाँ हस्तान्तरण गर्ने कार्यक्रमसमेत छ । यी दुई दल एक अर्काप्रति आकर्षित भई एकताको बिन्दुमा कसरी पुगे ? यसका लागि दुबै पार्टीले अंगालेको नीति र दुई दलमा रहेका नेताहरूको सामिप्यतालाई जोडेर हेर्नुपर्ने हुन्छ ।
रास्वपाले गठन गरेको उच्चस्तरीय संवाद समितिको संयोजक डा. स्वर्णिम वाग्लेको विवेकशीलका संस्थापक दिवंगत उज्ज्वल थापासँगको निकटता बूढानीलकण्ठ स्कूलदेखि थियो । बूढानीलकण्ठ स्कूलमा अध्ययन गरेका स्वर्णिम र उज्ज्वलको सम्बन्ध नेपालदेखि अमेरिकासम्मै घनिष्ठ थियो ।
दुबै दलले एकले अर्कोलाई मित्रशक्तिका रूपमा परिभाषित गर्दै आएका थिए । वैकल्पिक शक्तिका रूपमा उदाएका दलहरू एकीकरण गर्ने नीति दुबै दलले बनाएका थिए । एकले अर्कालाई मित्र शक्तिको रुपमा परिभाषित गरेसँगै एकताका लागि दुबै पक्ष सकारात्मक बनेको दुबै दलका नेताहरूले जानकारी गराएका छन् । गत जेठको १८ गते विवेकशील साझाले संस्थापक उज्ज्वलको स्मृतिमा राखेको कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल सहभागी थिए ।
अर्यालले लिखित मन्तव्यमा विवेकशील साझासँग ध्रुवीकरण वा एकीकरणको प्रस्ताव राखे । उक्त प्रस्तावलाई विवेकशील साझाले सकरात्मक प्रस्तावका रूपमा ग्रहण गर्यो । दुई दल थप नजिक बनाउने अर्को जग विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारले निर्माण गरे ।
रास्वपा सभापति रवि लामिछाने भैरहवा कारागारमा रहेको बेला गत असार २५ मा उनलाई भेट्न कारागार पुगे ।जेनजी आन्दोलनले दल गठन, एकता, विलय हुने क्रम ह्वात्तै बढ्यो । यसै क्रममा वैकल्पिक शक्तिहरूको एकता वा संवादका लागि ती दलहरूले कार्यदल गठन गरेर संवाद सुरु गरे ।
रास्वपाले उपसभापति डा. स्वर्णिम र विवेकशील साझाले उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा उच्चस्तरीय संवाद समिति बनायो ।
नयाँ शक्तिका रूपमा उभिएका दल, अभियन्ता लगायतसँग दुबै पक्षले संवाद सुरु गरे । दुबै पक्षले एकताका लागि ऊर्जामन्त्री कुलमान घिसिङसँग छलफल गरेपनि मिलनबिन्दु पहिल्याउन भने सकेनन् । कुलमान छुट्टै अघि बढ्न खोजेपछि रास्वपा र विवेकशील साझाले संवाद भने टुटाएनन् ।

तपाईको प्रतिक्रिया