काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउने सहमति भएको चर्चा चुलिँदा महामन्त्री गगन थापाले भने विशेष महाधिवेशनको प्रस्ताव फिर्ता नहुने स्पष्ट पारेका छन् ।

पार्टीभित्र विधानसम्मत ढंगले विशेष महाधिवेशनको माग भइसकेको हुँदा नियमित महाधिवेशनको तालिकाले मात्रै त्यसलाई निष्क्रिय पार्न नसक्ने महामन्त्री थापाको भनाई छ ।

‘विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरूलाई महाधिवेशन चाहिएको हो, तालिका होइन । नियमित महाधिवेशनको तालिका आउने तर महाधिवेशन नहुने स्थिति बन्यो भने विशेष महाधिवेशन हुन्छ’, थापाले नेपाल प्रेससँग भने ।

उनले पुसभित्र नियमित महाधिवेशन गर्ने तालिका बने पनि महाधिवेशन हुने नहुने कुराको टुंगो पुसको पहिलो हप्ता नै लागिसक्ने भन्दै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन आयोजना हुने बताए ।

‘एउटा कुराको हेक्का राख्नुपर्छ विशेष महाधिवेशनको प्रस्ताव फिर्ता भएको छैन, हुँदैन । महाधिवेशनको तालिका बनाउने तर नगर्ने नियत हो भने अहिले भनेको सहमति पनि ५-७ दिनमा फुस्स हुन्छ’, थापाले भने ।

आइतबार सभापति शेरबहादुरसँग आफ्नो कुनै संवाद नभएको भन्दै थापाले अबको संवाद कार्यवाहक सभापतिसँग हुने बताए । ‘सभापतिले छलफल त सबैसँग गर्नुभयो । अब के गर्ने भन्ने त कार्यवाहक सभापतिको कुरा हो । उहाँले बैठकमा कस्तो प्रस्ताव ल्याउनुहुन्छ हेर्छौ । अब सभापतिसँग हैन कार्यवाहक सभापतिसँग मात्रै कुरा हुन्छ’, थापाले भने ।

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बस्दैछ । सोमबारको बैठकमा पुसभित्र नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका पेश गर्ने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तयारी छ ।

तपाईको प्रतिक्रिया