काठमाडौं । शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै ३ मिनेट १ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा नेपालबाट अध्ययनका लागि अष्ट्रेलिया पुगेका युवाहरूको वास्तविकतामाथि आधारित कथा प्रस्तुत गरिएको छ। रिण खोजेर अष्ट्रेलिया पुगेका युवाहरूको मुख्य सपना ‘पीआर’ लिनु हुन्छ। तर नेपालबाट रिण तिर्न पठाएको छोराले पैसा पठाउन नसक्दा उत्पन्न हुने पारिवारिक तनाव र विदेशको कठोर यथार्थलाई निर्देशक बस्नेतले पर्दामा उतारेका छन्।

ट्रेलरका दृश्यहरू हेर्दा फिल्ममा प्रेमकथा, बिछोडका संवेदनाहरू साथै “आफ्नो देश नै सर्वोत्तम” भन्ने सन्देश दिन खोजिएको बुझिन्छ।

यही मङ्सिर २६ गतेदेखि अल–नेपाल प्रदर्शनमा आउने फिल्मको प्रचार–प्रसारका लागि अष्ट्रेलियामा बसोबास गर्दै आएका आर ए सुरज पौडेल र विनिता कार्की नेपाल आएका छन्। उनीहरू मुख्य भूमिकामा छन्। फिल्ममा राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी ‘मस्तानी’, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल पनि प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. नेपाल र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।

ट्रेलरमा नीर शाहले बोलेको संवाद— “नेपालीको जवानी अष्ट्रेलियामा लगानी” —दर्शकको मन छुने निर्माण टिमको अपेक्षा छ।

सलोन–सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका छन् भने लगानी लक्ष्मण सापकोटा र प्रदीप दाहालको छ। सौरभ सायमी र सौरभ लामाले छायांकन गरेको यस फिल्मको सम्पादन बन्दे प्रसादले गरेका छन्। गणेश बुढाथोकीको लेखन रहेको फिल्मका गीतमा मानस राजको संगीत सुन्न सकिन्छ, जसमा सनुप पौडेल र नीतु पुनको स्वर रहेको छ। फिल्मका नृत्य संयोजन रामजी लामिछानेले गरेका हुन्। वितरण आर आर फिल्म्सले गर्दैछ।

तपाईको प्रतिक्रिया