
काठमाडौं । नेकपा एमालेको भावी अध्यक्षका दावेदार समेत रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनबारे तयार पारिएको छुट्टै राजनीतिक तथा सांगठनिक प्रस्ताव पार्टी केन्द्रिय कार्यालयमा बुझाउने भएका छन् ।
आफूले तयार पारेको दस्ताबेज बोकेर पोखरेल केहीबेरमा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासल जाँदैछन् । यसका लागि दिउँसो ३ बजे समय तय भएको पार्टीका नेताले जानकारी दिए।
ओलीसहित संस्थापन पक्षका नेताहरूले महाधिवेशनमा नीतिबारे कुनै छलफल नहुने बताइरहेका बेला जेन-जी आन्दोलनपछि राष्ट्रिय राजनीतिक परिवेश बदलिएको निष्कर्षसहित पोखरेलले काउन्टर दस्ताबेज पेश गर्न लागेका हुन् ।
ओलीलाई उक्त प्रस्ताव देखाएर महाधिवेशनको हलमा प्रस्तुत गर्ने जानकारी गराउने ती नेताले बताए ।
पोखरेलले भदौ २३-२४ पछि र अघिको राजनीतिक परिवेश, पार्टी लोकतान्त्रिकरण र पुनर्गठन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयबस्तु समेटिनुका साथै नेतृत्व परिवर्तनको निष्कर्षसहितको तयार पारिएको उक्त दस्तावेज पार्टी कार्यालयमा बुझाइन लागेको हो ।







