काठमाडौँ। आर्या इन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’को टिजर सार्वजनिक गरिएको छ। सोमबार निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत टिजर रिलिज गरेको हो। सार्वजनिक टिजरमा परदेशिन लागेका छोराप्रति बुबाआमाको माया कति गहिरो हुन्छ भन्ने यथार्थ कथामा प्रस्तुत गरिएको छ।

टिजरमा अभिनेता पल शाह सिरानीमाथि पासपोर्ट राखेर बसेका देखिन्छन् भने उनका बुबा प्रदीप रावत र आमा विपना थापा रातभरि रोइरहेका छन्। छोराको बिदाइअघि बुबाआमा अनिन्द्रामा छन्। उनीहरू छोरा परदेशिन लागेको रात रोइरै उज्यालो बनाएका छन्।

फिल्मको टिजरले दर्शकलाई निकै भावुक बनाउने देखिन्छ, किनकि विपना थापा र प्रदीप रावतको अभिनयले टिजरमै मन छोएको छ। परदेशिन बाध्य नेपाली युवाको कथालाई निर्देशक चन्द्र पन्तले पर्दामा पोख्न सफल देखिन्छन्।

आगामी माघ १६ गतेबाट रिलिज हुने यस फिल्ममा प्रदीप रावत, विपना थापा र पल शाहका अलवा सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली लगायत कलाकारहरूको अभिनय रहेको छ। साथै, बाल कलाकारमा समाइरा थापा र शान अधिकारी पर्दामा देखिने छन्।

फिल्मको कथा–पटकथा निर्देशक पन्तकै हो भने संवाद अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेर लेखेका हुन्। फिल्ममा लगानी कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्।

यस फिल्मका कार्यकारी निर्माता करणसिंह रसाइली हुन्। नवराज उप्रेतीको छायांकन, गम्भीर बिष्ट र दिलिप ओखडाको कोरियोग्राफी, कोशिश क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी र अभी सुनारको संगीत तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। फिल्मलाई आर आर फिल्म्सका लागि रोहित कट्टेल र रतन श्रेष्ठले वितरण गर्नेछन्

तपाईको प्रतिक्रिया