हामी धेरैमा सरकार र सत्ता एउटै हो भन्ने भ्रम विद्यमान छ। यही भ्रमका कारण अहिले कतिपय राजनीतिक मुद्दाहरूमा समस्या भइरहेका छन्। मैले जेन-जी आन्दोलनले सरकार मात्र ढालेको हो तर सत्ता ढालेको छैन। भनेपछि, खिसिट्युरी गर्ने धेरै विद्वान मित्रहरू पनि थिए।

खासमा जेन-जी आन्दोलनले ओली सरकार, अर्थात् मन्त्रिपरिषद् मात्र विघटन गरेको थियो। राज्यका अरू अंग र निकायहरू भंग भएका थिएनन्। संविधान जीवित छ, राष्ट्रपति क्रियाशील छन्, व्यवस्था उही छ, सेना, सुरक्षा निकाय र राजनीतिक दलहरू सक्रिय छन्।

अर्थात् सरकार ढलेको थियो। तर सत्ता ढलेको थिएन। तर सत्तालाई ढलेकोजस्तो भ्रमित पार्ने काम गरियो। यही कारण अहिले मुलुकमा कानुनी र राजनीतिक समस्याहरू जीवितै छन्।

खासमा सरकार र सत्ता एउटै जस्तो देखिए पनि यी बिल्कुल फरक कुरा हुन्। राजनीतिक विज्ञानमा “सरकार” र “सत्ता” एक–अर्कासँग सम्बन्धित भए पनि अर्थका दृष्टिले फरक अवधारणा हुन्।

सरकार भनेको सत्ताले धारण गरेको शरीर हो भने, सत्ता भनेको सरकारको शरीरभित्र रहने आत्मा हो। त्यसैले शरीर सहजै बदलिन सक्छ, तर आत्मा बदलिन कठिन हुन्छ।

जेन-जी आन्दोलनले शरीर—सरकार—लाई बदल्यो, तर आत्मा—सत्ताको संरचना—लाई भत्काउन सकेन। यही कारण राजनीतिक प्रश्नहरू अधूरै छन् र कानुनी जटिलता निरन्तर भइरहेका छन्।

जेन-जी आन्दोलनले सरकारको “राजनीतिक रूप”लाई परिवर्तन गर्‍यो तर “कार्यकारिणी चलाउने सत्ताको सार”लाई हल्लाउन सकेन। फलस्वरूप यति धेरै जनधनको क्षति भएर पनि २०८४ सालमा हुने प्रतिनिधिसभा निर्वाचन दुई वर्ष अगाडि हुनेबाहेक केही उपलब्धि हुन सकेन। परिवर्तन केवल “रूप” मा भयो, “सार” मा भएन।

सरकार : औपचारिक संयन्त्र

सरकार भनेको राज्य सञ्चालन गर्ने औपचारिक संयन्त्र हो। जसमा—प्रधानमन्त्री, मन्त्री, संसद, न्यायालय र प्रशासनिक निकायहरू पर्दछन्। सरकार कानून र संविधानको आधारमा निर्णय कार्यान्वयन गर्ने संवैधानिक तथा प्रशासनिक संरचना हो। कुनै पनि आन्दोलन वा राजनीतिक संकटले सर्वप्रथम यही संरचनालाई प्रभावित पार्छ।

जेन-जी आन्दोलनमा पनि यही भयो—कार्यकारिणी शाखाको पुनर्संरचना भयो र तत्कालीन मन्त्रिपरिषद् विघटनमा पुग्यो। तर सरकारको परिवर्तन औपचारिक तहको परिवर्तन मात्र हो। यसले राज्यको गहिरो शक्ति–संरचना र सत्तालाई अनिवार्य रूपमा परिवर्तन नगर्न सक्छ।

सत्ता : वास्तविक शक्ति

सत्ता भनेको केवल पद वा कुर्सी होइन। यो समाज, राज्य र संस्थाहरूलाई चलाउने वास्तविक शक्ति हो। सत्ता—व्यक्ति, दल, प्रशासन, सेना, मिडिया, पूँजी, कानुनी संरचना र सांस्कृतिक मूल्यहरू—सबैमा फैलिएको हुन्छ।

यस अर्थमा सत्ता अदृश्य तर अत्यन्त प्रभावकारी हुन्छ। सत्ताले वास्तविक रूपमा निर्णय लिन, अरूलाई प्रभावित पार्न वा नियन्त्रण गर्न सक्छ। शक्ति–सत्ता कसैसँग पनि हुन सक्छ—चाहे उनी सरकारमा होस् वा बाहिर। सत्ता प्रायः देखिँदैन, तर त्यसको प्रभावले नै सरकारको दिशा निर्धारण गर्छ।

हाम्रो शरीरका हाड–मासु सरकार हुन् भने, मुटु–मस्तिष्क–स्नायु प्रणाली गहिरो संस्थागत संरचना हो—त्यो नै सत्ता हो। प्रधानमन्त्रीको नेतृत्वमा बनेको मन्त्रिपरिषद् सरकार हो।
तर त्यसलाई चलाउने शक्ति दलको केन्द्रीय समिति वा जनमत पनि हुन सक्छ।

त्यसैले “सरकार” औपचारिक अंग हो भने “सत्ता” त्यसको वास्तविक सार हो। संक्षेपमा—सरकार सत्ताको रूप हो, सत्ता सरकार चलाउने शक्ति हो।

निष्कर्ष

जेन-जी आन्दोलनले राजनीतिक सतहमा ठूलो तरंग ल्यायो। तर गहिरो संरचनागत परिवर्तन नहुँदासम्म सत्ता यथास्थानमै रहन्छ। नेपालमा अहिले देखिएको राजनीतिक तनाव यही भिन्नता नबुझिनुबाट उत्पन्न भएको हो।

सरकार बदलिनु दृश्य परिवर्तन मात्र हो। सत्ता बदलिनु भनेको दीर्घकालीन, संरचनागत र सांस्कृतिक रूपान्तरणको परिणाम हो—जसका लागि आन्दोलन मात्रै पर्याप्त हुँदैन, संस्थागत सुधार आवश्यक हुन्छ।

तपाईको प्रतिक्रिया