
इलाम । इलाम क्षेत्र नं. १ नेपाली कांग्रेसले प्रतिनिधि सभा प्रत्यक्षतर्फका लागि ९ जनाको नाम सिफारिस गरेको छ। इलाम क्षेत्र नं. १ पूर्व प्रधानमन्त्री झलनाथ खनालको क्षेत्र हो।
सिफारिस हुनेहरूमा—युवा नेता तथा प्रदेश सभा क्षेत्र सभापति निष्कल राई, पूर्व राज्यमन्त्री केशव थापा, पूर्व संविधानसभा सदस्य टिकाराम सुब्बा, जिल्ला सभापति डम्बरबहादुर खड्का, पूर्व राज्यमन्त्री वेनुपराज प्रसाई, पूर्व प्रतिनिधि सभा उम्मेदवार भूपेन्द्र कट्टेल, महाधिवेशन प्रतिनिधि हरिप्रसाद लुइँटेल, पूर्व प्रतिनिधि सभा उम्मेदवार भेषराज आचार्य र क्षेत्रीय प्रतिनिधि नगेन्द्र बुढाथोकी रहेका छन्।
जिल्ला सभापति डम्बरबहादुर खड्काले यसअघि इलाम क्षेत्र नं. २ बाट प्रदेश सभा चुनावका साथै २०७८ मा सुवास नेम्वाङ र २०८१ मा उपनिर्वाचनमा सुहाङ नेम्वाङसँग पराजय भोगिसकेका छन्। विवादास्पद छवि भएका खड्का निर्माण व्यवसायी हुन् भने उनी सामाजिक क्षेत्रमा पनि उतिनै सक्रिय देखिन्छन्।
भेषराज आचार्य पनि सोही क्षेत्र (नं. २) बाट २०७४ मा सुवास नेम्वाङसँग प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए। पार्टीको १२औं, १३औं र १४औं अधिवेशनमा पनि उनी जिल्ला सभापति पदमा पराजित भएका हुन्। जिल्लामा उनलाई सलिन नेताको रूपमा चित्रण गरिन्छ।
पूर्व राज्यमन्त्री तथा पूर्व जिल्ला सभापति केशव थापा तत्कालीन इलाम क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा तथा संविधानसभामा जित हासिल गरेका व्यक्ति हुन्। यद्यपि पछिल्लो समय उनको राजनीतिक सक्रियता र प्रभाव जिल्लामा कम देखिन्छ।
२०५६ को आम निर्वाचनमा क्षेत्र नं. १ बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गराएका पूर्व राज्यमन्त्री वेनुपराज प्रसाई संविधानसभाको पहिलो निर्वाचनमा सोही खनालसँग पराजित भएका थिए।
त्यसैगरी टिकाराम सुब्बा समानुपातिक तर्फ पहिलो संविधानसभाका सदस्य हुन् भने भूपेन्द्र कट्टेल यही क्षेत्रबाट २०७४ को प्रतिनिधि सभा चुनावमा खनालसँग १७ हजार बढी मतान्तरले पराजित भएका उम्मेदवार हुन्।
पूर्व शिक्षक हरिप्रसाद लुइँटेल पार्टीको महाधिवेशन प्रतिनिधि हुन्। युवातर्फबाट प्रतिनिधित्व गर्ने निष्कल राई हाल प्रदेश सभा १ (ख) का सभापति तथा पूर्व क्षेत्रीय सह–सचिव हुन्। नेपाल विद्यार्थी संघमा लामो समय आबद्ध रहेका राई शंकरदेव क्याम्पसका पूर्व लेक्चरर पनि हुन्।
अर्का युवा क्षेत्रीय प्रतिनिधि नगेन्द्र बुढाथोकी सूर्यदय नगरपालिका उपप्रमुखका स्वकीय सचिव हुन्। इलामका दुवै क्षेत्रहरू राष्ट्रिय राजनीतिमा ‘हटस्पट’ मानिन्छन्। इलाम क्षेत्र नं. २ मा दशकौँसम्म सुवास नेम्वाङले नेकपा एमालेबाट एकछत्र प्रभाव जमाएका थिए र अहिले उनको स्वर्गारोहणपछि छोराले नेतृत्व सम्हालेका छन्।
क्षेत्र नं. १ मा भने तत्कालीन नेकपा (एमाले) कै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको दबदबा रहिआएको थियो। उनले २०५६ मा नेपाली कांग्रेसका वेनुपराज प्रसाईलाई र २०७८ मा एमालेबाट विभाजित भइसकेपछि एमालेकै महेश बस्नेतसँग पराजय भोगेका थिए।
जानकारहरूका अनुसार डम्बर खड्का, केशव थापा तथा भेषराज आचार्यको क्षेत्र नं. २ भए पनि पटक–पटक पराजयपछि उनीहरू अहिले क्षेत्र नं. १ मा आएका हुन्। डम्बर खड्काले टिकट पाए प्रतिनिधि सभा चुनावमा ५ वर्षभित्र ३ पटक उम्मेदवार बन्नेछन्, जसमा दुई पटक उनी पराजय भोगिसकेका छन्।
स्थानीय क्रियाशील सदस्यहरूका अनुसार Gen-Z भावनालाई आत्मसात गर्दै, अनुभव र योगदानका आधारमा टिकट दिने हो भने निष्कल राई बलिया देखिन्छन्।







