
काठमाडाै । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चार मन्त्री थपिए। त्यसमा नागरिक समाजका तर्फबाट वरिष्ठ अधिवक्ता तथा प्राध्यापक डा. कुमार इङनामले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
तेह्रथुमका इङनाम भक्तपुरमा बस्छन्। लामो समय वकालत र कानुन विषयमा अध्ययन अनुसन्धानमा बिताएका उनी काठमाडौँ स्कुल अफ लमा प्राध्यापन गर्छन्। न्यायालय सम्हाल्दै सरकार सम्हाल्न आइपुगेकी कार्कीले आफ्नो सरकारमा कानुन क्षेत्रकै लोकप्रिय इङनामलाई आफ्नो मन्त्रिपरिषद्मा समेटेकी छन्।
इङनामले शुक्रबारै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। उनले अन्तर्राष्ट्रिय व्यापार तथा मध्यस्थता र वित्तीय अपराधसम्बन्धी कानुनका विज्ञकोरुपमा परिचय बनाएका छन्।
इङनामले कानुनसम्बन्धी थुप्रै किताबहरू पनि लेखेका छन्। काठमाडौं स्कुल अफ लमा आबद्ध हुनुअघि उनी इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा पढाउँथे। पहिचानवादी बौद्धिक व्यक्तिको परिचय बनाएका इङ्नामले प्राध्यापन र वकालतलाई सँगसँगै अघि बढाएका थिए।
उनी शेरबहादुर इङनामका छोरा हुन्। तेह्रथुमको आठराई गाउँपालिका-४, तत्कालीन इवा गाविसका इङनाम पञ्चायतकालीन नेता हुन्।







