
काठमाडौँ। भारतको राजधानी नयाँ दिल्लीमा शनिवारदेखि अन्तर्राष्ट्रिय दलित सम्मेलन हुँदै छ। सम्मेलनमा भाग लिन नेपालबाट पनि प्रतिनिधि मण्डल शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। बाबु जगजीवनराम कला संस्कृति तथा साहित्य प्रतिष्ठानले गरेको उक्त सम्मेलनमा दक्षिण एसियामा ठुलो जनसंख्यामा रहेका दलित समुदायका जल्दाबल्दा समस्या तथा दलित उत्थानका विविन्न विषयमा छलफल हुने छ।
सम्मेलनमा भाग लिन नेपाल-भारत दलितमैत्री संघका तर्फबाट एक प्रतिनिधि मण्डल शुक्रबार त्यसतर्फ गएको हो।
उक्त संस्थाका अध्यक्ष ओमप्रकाश विश्वकर्मा, सहसचिव चन् कुमार गदाल, पूर्वमन्त्री कलावती पासवान, पूर्व सांसद सन्तोष परियार, राष्ट्रिय दलित आयेगका सदस्यहरु सुन्दर पुर्कुटी र मिना सोवसहितको टोली त्यसतर्फ गएको हो। टोलीलाई राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रीय अध्यक्ष त्रिलोकचन्द विश्वास विकेसहितले त्रिभुवन विमानस्थलमा बिदाइ गरे ।
सम्मेलनमा भारत र नेपालसहित श्रीलंका, बंगलादेश, पाकिस्तान लगायत विभिन्न देशका दलित अधिकारकर्मीहरु सहभागी हुनेछन्।
सम्मेलनमा पूर्वसांसद सन्तोष परियारलाई अम्बेडकर अन्तर्राष्ट्रिय अवार्डले सम्मान गरिनेछ भने हरिकृष्ण सुनार, बीरबल सुनार, कुमार टेलर र लोक बहादुर सुनारलाई सम्मान गरिनेछ।







