काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सुरु हुन लागेको छ। उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा एमाले कार्यकर्ताहरुको भीड देखिन्छ।

बिहानैदेखि स्थल तथा वरपरका क्षेत्रमा कार्यकर्ता, प्रतिनिधि र समर्थकहरूको भीड बाक्लिँदै गएको छ। उद्घाटनका लागि मन्च झकिझकाउ बनाइएको छ । उद्घाटन समारोह १ बजेलाई राखिएको छ। त्यसअघि र्यालीको आयोजना गरिएको छ।

‎देशभरिबाट आएका हजारौँ प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरू बिहानैदेखि उपत्यकाका मुख्य नाकाहरू हुँदै सल्लाघारीतर्फ प्रवेश गरिरहेका छन्। सवारी साधनको लामो लाइन र भीडका कारण काठमाडौं–भक्तपुर क्षेत्रमा चहलपहल बढेको छ भने अरनिको राजमार्गमा सवारीको चाप देखिन्छ।

‎उद्घाटनका लागि स्टेज, सजावट, ध्वनि प्रणाली, झण्डा–ब्यानरदेखि सुरक्षासम्बन्धी सबै काम बिहानसम्म पूरा गरिएको आयोजक समितिले जनाएको छ। तीनवटै सुरक्षा निकाय उच्च सतर्कतामा छन्, भने ट्राफिक प्रहरीले विशेष व्यवस्थापन लागू गरेको छ ।

‎स्थल वरपर स्वच्छता, स्वास्थ्य सहायता कक्ष, पानी र स्वयंसेवक परिचालन जस्ता व्यवस्थाहरूलाई पनि आज बिहानैदेखि सक्रिय बनाइएको छ। कार्यकर्ताहरूलाई सहज रूपमा बस्न र प्रवेश–निस्कन मद्दत गर्न सयौँ स्वयंसेवक खटाइएको छ।

महाधिवेशनको औपचारिक प्रारम्भसँगै आगामी दिनहरूमा हुने राजनीतिक प्रतिवेदन, संगठन प्रतिवेदन, विधान संशोधन र नेतृत्व चयन प्रक्रिया अगाडि बढाइने छ।

 

तपाईको प्रतिक्रिया