
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेकपा एमालेको ११ औ महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित भएका थिए । उक्त समारोहलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारले गठन गरेको आयोगलाई सचेत गराउँदै २३ र २४ भदौमा भएको घटनाको उच्चस्तरीय न्यायीक छानबिन आयोगले बिना आग्रह–पूर्वाग्रह छानबिन गर्नुपर्ने बताएका छन् ।
‘यी दुवै घटनाहरूको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन गठित उच्च स्तरीय न्यायीक छानबिन आयोगले आग्रह, पूर्वाग्रह, दबाब र प्रभावबाट मुक्त भइ निष्पक्ष प्रतिवेदन तयार गर्नु पर्ने कार्यवाहक सभापति खड्का बताउछन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि सरकारले लगाएको स्थानहदले धेरै प्रश्नहरू उब्जाएको पनि बताएका छन्। ‘यही क्रममा नेताहरूका स्थानहदका निर्णयहरू लगायतका कार्यहरूले धेरै प्रश्नहरू उठाएका छन्’, ‘त्यसैले यसतर्फ आयोग सतर्क हुन जरूरी छ । सचेततापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न जरूरी रहेको उनीले बताए ।
कार्यवाहक सभापति खड्काले नागरिकको जीउ–धनको सुरक्षा जिम्मेवारी लिएका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने कार्य भएको भन्दै नागरिकको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी गरी उनीहरूको सर्वश्व खतम पारिएको बताएका छन् ।
‘उनीहरूले न्याय पाउने विषय, कानुनी राज्यको प्रमुख दायित्वभित्र पर्दछ । यो सरकारको कर्तव्य हो,’ खड्काले भने, ‘सरकारको दायितव हो र बनेका आयोगहरूको परम कर्तव्य हो ।
कार्यवाहक सभापति खड्काले लोकतन्त्रमाथि कुनै निरंकुशता वा अस्थिरताको कालो बादल मडारिँदा तत्कालै कांग्रेस, एमाले र अन्य लोकतान्त्रिक दलहरू एक ठाउँमा उभिएर परिस्थितिको डटेर प्रतिवाद गर्ने गरेको इतिहास पनि स्मरण गरे ।







