काठमाडौँनेपाली कम्युनिस्ट पार्टीका नेता एवंम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेका नेताहरूलाई नेकपामा आउन आग्रह गरेका छन्

सुर्खेतको वीरेन्द्रनगरमा शनिवार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नरहेको बताएका छन् । ‘एमालेका साथीहरू तपाईँहरूको बाटो पनि यही हो । अर्को बाटो छैन । तपाईँहरू पनि एकताबद्ध हुनुहोस् कमरेडहरू’ उनले भने, ‘हामी एउटै कम्युनिस्ट पार्टी निर्माण गरौँ । एउटा देशमा हजार वटा सर्वहारा श्रमिक वर्गको पाटी हुँदैनन् ।’

नेता खनाल बताउछन् विगतमा विभिन्न फुर्का जोडेर हिडेपनि अबको मार्गदर्शन मास्कवादलेनिनबाद नै हो । ‘यो पार्टीको विशेषता भनेको नेपाली विशेषताको समाजवाद हो । हामी सबै एकताबद्ध भएर अगाडि बढ्ने संकल्प गरौँ’ उनले भने, ‘उहाँहरूको महाधिवेशन हुँदै छ । महाधिवेशनमा भएका साथीहरूलाई म आग्रह गर्न चाहन्छु । आउनुहोस् यो मूल प्रवाहमा अगाडि बढौँ ।’

नेपालका कम्युनिस्ट पार्टीहरू एक भएर राष्ट्रिय रूपमै एउटा अपराजित शक्तिको रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘अब टुटेर, फुटेर हैनएकजुट भएर एउटा निश्चित नीति, कार्यदिशा र मापदण्डका आधारमा हामी एक हुनु पर्छ,’ उनले भने ।

सम्बोधनका क्रममा नेता खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको टिप्पणी समेत गरे । जनताले गाँस, बास र कपाससहित शिक्षाको सहज पहुँच पाउने नेपाल निर्माण गर्न समाजवाद अपरिहार्य रहेको उनको तर्क छ ।

तपाईको प्रतिक्रिया