नयाँ दिल्ली। भारतको नयाँ दिल्लीमा जारी अन्तर्राष्ट्रिय दलित सम्मेलनका क्रममा नेपाली दलित आन्दोलनमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ।

बाबू जगजीवन राम कला, संस्कृति तथा साहित्य प्रतिष्ठान एवं राजेन्द्र भवन ट्रस्टद्वारा गरिएको ५५औँ राष्ट्रिय विजय दिवस तथा अन्तर्राष्ट्रिय दलित सम्मेलनमा नेपालबाट निम्त्याइएका प्रतिनिधिमण्डललाई अम्बडेकर इन्टरनेशनल अवार्डसहित विभिन्न सम्मान प्रदान गरिएको हो। सो अवसरमा पूर्वसांसद सन्तोष परियार र राष्ट्रिय दलित आयोगका प्रवक्ता सुन्दर पुर्कुटीलाई अम्बडेकर इन्टरनेशनल अवार्ड- २०२५ बाट सम्मान गरिएको छ।

त्यस्तै, नेपाल-भारत दलितमैत्री संघका अध्यक्ष ओमप्रकाश विश्वकर्मा, महासचिव चन्द्रकुमार गदाल, पूर्वमन्त्री कलावतीदेवी पासवान, राष्ट्रिय दलित आयोगका सदस्य मीनादेवी सोब, अन्टार्कटीका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा, लोकगायिका टीका सानु, दलित अधिकारकर्मीहरू वीरबल सुनार, कुमार टेलर, गोमा सुनार, हरिकृष्ण विश्वकर्मा र लोकबहादुर सुनार पनि सम्मानित भएका छन्।

शनिवार नयाँ दिल्लीस्थित राजेन्द्र भवनमा भएका कार्यक्रममा भारतका पूर्व लोकसभा अध्यक्ष डा. (श्रीमती) मीरा कुमारले सम्मान गरेकी हुन्।

अवार्डबाट सम्मानित भएपछि राष्ट्रिय दलित आयोगका प्रवक्ता पुर्कुटीले अवार्डले दलित समुदायको अधिकार, सम्मान र समान अवसरका लागि अझ दृढताका साथ निरन्तर आवाज उठाइरहनुपर्ने दायित्वबोध भएको बताए। ‘यस कार्यक्रमले भारत–नेपालबीचको ऐतिहासिक दलित ऐक्यबद्धतालाई अझ मजबुत बनाएको छ। बाबू जगजीवन रामजस्ता महान् व्यक्तित्वको विचार—सामाजिक न्याय, समानता र मानव मर्यादाको दर्शन—आज पनि दक्षिण एसियाली समाजका लागि उत्तिकै सान्दर्भिक रहेको सन्देश यस समारोहले स्पष्ट रूपमा प्रवाह गरेको छ,’ उनले लेखेका छन्। सम्मेलनमा भारत र नेपालसहित श्रीलंका, बंगलादेश र पाकिस्तानका दलित अधिकारकर्मीहरु सहभागी छन्।

तपाईको प्रतिक्रिया