बाबू जगजीवन राम भारतका महान् समाज सुधारक, स्वतन्त्रता सेनानी र दलित अधिकारका अग्रणी नेता हुनुहुन्थ्यो। बिहारमा एउटा दलित परिवारमा जन्मिएर उहाँले भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय नेताकारुपमा भूमिका खेल्दै उहाँले राष्ट्रिय राजनीतिमा समेत महत्त्वपूर्ण छाप छोड्नुभएको थियो।

भारतमा मात्रै होइन, नेपालबाट समेत हामीले उहाँलाई दलित समुदायको सामाजिक, शैक्षिक र राजनीतिक उत्थानका लागि उहाँले जीवनभर संघर्ष गर्नुभएको कुरालाई बुझेका छौँ। छुवाछुत, जातीय भेदभाव र सामाजिक अन्यायविरुद्ध उहाँको भूमिका ऐतिहासिक मानिन्छ।

आज उहाँको स्मृतिमा यो राष्ट्रिय विजय दिवसमा सहभागी हुन पाउनु केवल व्यक्तिगत गौरवको विषय मात्र होइन, सम्पूर्ण नेपाली दलित समुदाय र राष्ट्रिय दलित आयोगका लागि समेत उच्च सम्मानको विषय हो। यो सम्मेलन कुनै औपचारिक जमघट मात्र नभई दलित समुदायको अधिकार, पहिचान, न्याय र समानताका लागि भइरहेको ऐतिहासिक संघर्षको एक महत्वपूर्ण कोसेढुङ्गा हो।
बाबू जगजीवन राम कला, संस्कृति तथा साहित्य अकादेमीले गरेको यो उत्सव यसर्थमा पनि निकै महत्त्वपूर्ण हो भनेर मैले बुझेको छु।

नेपाल, भारत लगायत समग्र दक्षिण एसियाली मुलुकमा दलित समुदायले शताब्दीयौँदेखि भोग्दै आएको जातीय अत्याचार, सामाजिक बहिष्कार, आर्थिक शोषण र विभिन्न प्रकारका हिंसाका स्वरूप एकअर्कासँग अत्यन्त मिल्दोजुल्दा छन्। तर आज यो पीडा केवल मौन इतिहासमा सीमित छैन; यो संगठित प्रतिरोध, सामूहिक आवाज र सामाजिक रूपान्तरणको सशक्त अभियानमा रूपान्तरण भइसकेको छ।

हाम्रो साझा यथार्थ स्पष्ट छ—आज पनि छुवाछुत, सामाजिक तथा आर्थिक बहिष्कार, अवसरबाट वञ्चितीकरण, हिंसा, शोषण र अमानवीय व्यवहार विद्यमान छन्। दलित समुदायमाथिको अन्याय कुनै एक देशको समस्या मात्र होइन; यो सम्पूर्ण मानवता र मानव मूल्यसँग जोडिएको साझा चुनौती हो।

यस सन्दर्भमा नेपाल सरकारले महत्वपूर्ण कानुनी प्रगति गरेको छ। नेपालको संविधान २०७२ ले जातीय छुवाछुतको अन्त्य गर्ने स्पष्ट प्रतिबद्धता गरेको छ, समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ र जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव (कसूर तथा सजाय) ऐन, २०६८ मार्फत छुवाछुतलाई गम्भीर आपराधिक कृत्यका रूपमा परिभाषित गरेको छ। साथै, राष्ट्रिय दलित आयोगलाई संवैधानिक अङ्गका रूपमा स्थापना गरिएको छ।

राष्ट्रिय दलित आयोगले पीडितका उजुरी दर्ता, अनुगमन तथा अनुसन्धान, नीति सुधारका सिफारिस तथा स्थानीय तह र न्यायिक संयन्त्रसँग समन्वय गर्दै निरन्तर कार्य गर्दै आएको छ। तथापि, यथार्थ अझै चुनौतीपूर्ण नै छ। आर्थिक असमानता कायमै छ, शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच सीमित छ, दलित महिलाहरू दोहोरो उत्पीडनको सिकार भइरहेका छन्, र दक्षिण एसियामा मानव बेचबिखन, श्रम शोषण तथा भेदभाव गम्भीर समस्याका रूपमा विद्यमान छन्।

यी सबै समस्याको समाधानका लागि साझा, संगठित र दृढ यात्रा अघि बढाउनु आजको अपरिहार्य आवश्यकता हो भन्ने राष्ट्रिय दलित आयोगको ठम्याइ छ। भारत र नेपालबीचको ऐतिहासिक सम्बन्धसँगै दलित समुदायबीचको ऐक्यबद्धता पनि गहिरो र दीर्घकालीन रहेको छ। भारतको समानता र न्यायको आन्दोलन होस् वा नेपालमा २०६२/६३ को लोकतान्त्रिक आन्दोलन—यी सबैले दलित आवाजलाई अझ सशक्त बनाएका छन्।

आजको सम्मेलनले विचार, अनुभव, नीति तथा सफल अभ्यासहरूको आदान–प्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। हामी दृढ विश्वास गर्छौँ—एकअर्काबाट सिकेर मात्र दक्षिण एसियाली दलित आन्दोलनलाई क्षेत्रीय स्तरबाट विश्वव्यापी सशक्त आन्दोलनमा रूपान्तरण गर्न सकिन्छ।

सांस्कृतिक तथा साहित्यिक आन्दोलनको भूमिका पनि अत्यन्त महत्वपूर्ण छ। बाबू जगजीवन रामजस्ता महान् व्यक्तित्व केवल राजनीतिक नेता मात्र होइनन्, उनी सामाजिक र सांस्कृतिक चेतनाका अमिट प्रेरणास्रोत हुन्। साहित्य, कविता, संगीत, नाटक र कला सधैँ उत्पीडनविरुद्ध चेतना जगाउने प्रभावकारी माध्यम बनेका छन्।

नेपालमा पनि दलित युवाहरू साहित्य, कला, मिडिया र सामाजिक अभियानमार्फत आफ्नो पहिचान र संघर्षलाई सशक्त रूपमा अभिव्यक्त गरिरहेका छन्, जसले आन्दोलनलाई अझ मानवीय, चेतनायुक्त र सशक्त बनाइरहेको छ।

यस सन्दर्भमा राष्ट्रिय दलित आयोगको तर्फबाट तीनवटा स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको छ—पहिलो, कानुनी तथा न्यायिक प्रणालीलाई अझ प्रभावकारी बनाउने प्रयास निरन्तर रहनेछ। दोस्रो, दलितमाथि हुने हिंसा, छुवाछुत, शोषण र भेदभावप्रति शून्य सहनशीलता अपनाइनेछ र पीडितमैत्री न्याय प्रणालीलाई अझ सुदृढ बनाइनेछ। तेस्रो, समावेशी, सम्मानजनक र बराबरीमा आधारित समाज निर्माणका लागि आयोग सधैँ सक्रिय रहनेछ।

साथै, दक्षिण एसियाली दलित ऐक्यबद्धतालाई अझ बलियो बनाउन भारत, श्रीलंका, बंगलादेशलगायत देशहरूसँग सहकार्य, अध्ययन तथा अनुभव आदान–प्रदान विस्तार गर्न आवश्यक छ। विशेष गरी दलित महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा युवाहरूको शिक्षा, रोजगारी, सीप विकास र नेतृत्व क्षमतामा विशेष प्राथमिकता दिनु अनिवार्य छ।

अन्त्यमा, दलित समुदायको संघर्ष अधिकार प्राप्तिको मात्र होइन—यो मानव मर्यादा, अस्तित्व, सम्मान र समान अवसरको लडाइँ हो। आजको यो राष्ट्रिय विजय दिवसले भारत, नेपाल र विश्वभरका दलित समुदायलाई जोड्ने सशक्त पुल निर्माण गरोस् र भविष्यलाई अझ उज्यालो बनाओस् भन्ने कामना समेत गर्दछु।

 (बाबू जगजीवन राम कला, संस्कृति तथा साहित्य अकादेमीले शनिबार दिल्लीमा गरेको विजय उत्सवमा राष्ट्रिय दलित आयोगका   प्रवक्ता   समेत रहेका सदस्य पुर्कुटीले गरेको सम्बोधनको सम्पादित अंश।)

तपाईको प्रतिक्रिया