
काठमाडौं । नेपाल ट्रष्टको अर्बौंको जग्गा यति समूहलाई कौडीको भाउमा सुम्पिएको प्रकरणमा मुछिएका तत्कालीन सचिव अर्जुनकुमार कार्की र सहसचिव लेखबहादुर कार्कीबीच बयानका क्रममा एक अर्कालाई पोलेर आफु जोगिन खोजेका भेटिएको छ । अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को रोहबरमा जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले लिएको बयानमा यी दुई पूर्व प्रशासकले एक अर्कालाई मुख्य दोषी करार गर्न कुनै कसर बाँकी राखेका छैनन् ।
सहसचिव लेखबहादुर कार्कीको दाबीः हाकिमको मौखिक आदेश र सरुवाको डरले काम गरेँ
तत्कालिन सहसचिव लेखबहादुर कार्कीले आफूलाई निर्दोष साबित गर्न ‘चेन अफ कमान्ड’को सहारा लिएका छन् । उनले लिज सम्झौता र निर्णय प्रक्रिया तत्कालीन सचिव अर्जुनकुमार कार्कीको ‘मौखिक निर्देशन’ र प्रत्यक्ष दबाबमा भएको दाबी गरेका छन् ।
उनले बयानमा भनेका छन्टे ‘टेन्डर खोल्ने प्रक्रिया अगाडि नबढाए मलाई सरुवा गर्ने र कार्यसम्पादन मूल्याङ्कन बिगारीदिने धम्की सचिवज्यूबाट आयो । उहाँकै मौखिक आदेश र दबाबका कारण मैले प्रक्रिया अघि बढाएको हुँ।’ लेख बहादुरले सचिवले आफ्नो नाम ‘अर्जुनकुमार कार्की’ कहीँ कतै नराख्न र आफू ‘लेख बहादुर’ र इन्जिनियरलाई मात्र अघि सार्न निर्देशन दिएको गम्भीर आरोप लगाएका छन् ।
अर्जुन कुमारको प्रतिवाद- कानुनको विद्यार्थी भएर दबाबमा परें भन्न लजाउनुपर्ने हो
पूर्वसचिव अर्जुनकुमार कार्कीले बयानमा सहसचिवको दाबीलाई ‘कपोकल्पित र दुराशयपूर्ण’ भन्दै खारेज गरिदिएका छन् ।
अर्जुन कुमारले प्रतिवाद गर्दै भनेका छन्, ‘सहसचिव जस्तो जिम्मेवार पदमा पुगेको र कानुनको समेत विद्यार्थी भएको व्यक्तिले ‘हाकिमले भनेर गलत काम गरें’ भन्नु हास्यास्पद हो । कानुन विपरीतको आदेश मान्दिनँ भन्ने आँट उनीसँग हुनुपर्थ्यो । गलत काम गर्न कसैले दबाब दिँदैमा आँखा चिम्लिएर मान्ने छुट कानुनले दिँदैन ।’
उनले आफूले ‘अधिकार प्रत्यायोजन’ गरिसकेकाले निर्णय गर्ने र सम्झौतामा हस्ताक्षर गर्ने व्यक्ति (लेख बहादुर) नै पूर्ण रूपमा जवाफदेही हुने तर्क गरे। ‘मैले अधिकार दिइसकेपछि स्वतन्त्र रूपमा निर्णय गर्ने अधिकार उहाँकै हो, जसले हस्ताक्षर गर्यो, दायित्व उसैको हुन्छ,’ सचिव कार्कीको जिकिर छ ।
बाटोको जग्गा कसले थप्यो भन्नेमा दुबै जना अनविज्ञ
सबैभन्दा रोचक पक्ष त के छ भने, दरबारमार्गको मुख्य जग्गासँगै बाटोको रुपमा रहेको जग्गा सूचना बिना नै सम्झौतामा कसरी थपियो भन्ने प्रश्नमा दुवैले अनविज्ञता प्रकट गरेका छन् । लेख बहादुरले बायनमा भनेका छन्, ‘माथिकै आदेश हो, मलाई थाहा भएन । अर्जुन कुमारले बयानमा भनेका छन्, ‘म सम्झौतामा संलग्न नै छैन, सूचनामा नभएको जग्गा कसरी थपियो, हस्ताक्षर गर्नेलाई नै सोध्नुस्।’







