
काठमाडौं । जेन-जी आन्दोलनका क्रममा देशभरका सञ्चार माध्यमहरूमा करिब ७८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रदर्शनका क्रममा ३८ वटा निजी सवारीसाधन जलाइएका छन्। नेपाल पत्रकार महासंघले आन्दोलनका क्रममा भएको क्षतिको विवरणबारे सरकारलाई ध्यानाकर्षण गराउँदै राहत प्याकेज दिन माग गरेको छ।
महासंघको प्रतिवेदनअनुसार उक्त आन्दोलन र त्यसपछिका घटनाक्रममा देशभरका १९ वटा सञ्चार संस्थाले करिब ५९ करोड ९३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको छ। यो क्षतिले नेपालको सञ्चार क्षेत्रलाई गहिरो चोट पुगेको महासंघको भनाइ छ।
मिडिया उद्यमी, सञ्चारकर्मी तथा सञ्चारसँग सम्बन्धित कर्मचारी गरी ३८ जनाको व्यक्तिगत सम्पत्ति तथा निजी सवारी साधन आगजनीका कारण पूर्ण रूपमा नष्ट भएको छ। यसबाट मात्रै १७ करोड ८४ लाख रुपैयाँ बराबरको व्यक्तिगत क्षति भएको महासंघको तथ्यांक छ।
घटनाक्रमको प्रत्यक्ष रिपोर्टिङमा खटिएका ५ जना पत्रकार गोलीको छर्रा लागेर घाइते भएका छन्। तीमध्ये केही पत्रकारले उपचार र असुरक्षित अवस्थाका कारण आफ्नो रोजगारीसमेत गुमाउनुपरेको महासंघले जनाएको छ।







