
काठमाडौँ। पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी एवं हिमाली भू–भागका बहुसङ्ख्यक नागरिकले गलगाँड रोगको चरम समस्यालाई झेल्नुपर्थ्यो । घाँटीको अघिल्लो भागमा गलगाँड (डल्लो) नहुनुलाई अस्वाभाविक ठानिन्थ्यो । गलगाँडलाई एक प्रकारले सुन्दरताको प्रतीक मानिन्थ्यो ।
यस्तो विकृतिका विरुद्ध सरकारले कण्ठरोग नियन्त्रण कार्यक्रममार्फत आयोडिनयुक्त नुनको वितरण अभियान देशव्यापी सञ्चालन गरेपछि पछिल्ला दशकमा गलगाँडको समस्या शून्यमा झरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो अध्ययन प्रतिवेदनअनुसार आयोडिनयुक्त नुनको पहुँच लगभग शत प्रतिशत पुग्दा आयोडिनको कमीबाट देखिने गलगाँडको समस्या निवारण भएको हो ।
सरकारको आयोडिनयुक्त नुनको सर्वसुलभ पहुँच आम नागरिकसम्म पुर्याउने नीति र यसलाई कार्यान्वयन गर्ने साल्ट ट्रेडिङ कर्पोरेसनको चुस्त वितरण व्यवस्थापनका कारण ग्रामीण क्षेत्रमा गलगाँडको समस्या शून्यमा झरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रममा ‘कण्ठरोग निवारण कार्यक्रम’ छ । राष्ट्रिय योजना आयोगद्वारा गरिएको उक्त कार्यक्रमको ‘आन्तरिक मूल्याङ्कन प्रतिवेदन २०७३’ अनुसार दुर्गम क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेसनको चुस्त नुन वितरण प्रणालीका कारण कार्यक्रमले सफलता पाएको हो ।
हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोडिनयुक्त नुनको आपूर्ति तथा वितरण प्रणाली र स्वास्थ्य मन्त्रालयले गलगाँडका रोग पहिचान तथा उपचारमा ध्यान दिने गरेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार पछिल्ला दशकमा विशेषगरी पहाडी एवं हिमाली क्षेत्रमा आयोडिनको कमीले हुने गलगाँड शून्यमा झरेको छ भने अन्य ‘हाइपरथाइरोइडिज्म’, मानसिक तथा शारीरिक क्षमतामा कमी आउने समस्यामा पनि गिरावट आएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि गत आर्थिक वर्षसम्म कण्ठरोग निवारण कार्यक्रमले शत प्रतिशत सफलता प्राप्त गरेको छ । अर्थात् दुर्गम हिमाली तथा पहाडी भूगोल भएका २२ जिल्लामा आयोडिनयुक्त नुनको सुलभ र सहज आपूर्ति तथा आम जनताको सहज पहुँच पुर्याइएकाले कार्यक्रम सफल भएको हो । ती जिल्लामा विशेष गरी गलगाँडको जोखिम रहने र समस्या हुन सक्ने सम्भावनाको आँकलनसमेत गरिएको छ ।
गत आवमा मात्र मन्त्रालयले कर्पोरेसनमार्फत एक लाख दुई हजार ५०० क्विन्टल नुनको सहज आपूर्ति गरेको थियो । मन्त्रालयका सहसचिव शिवराम पोखरेलका अनुसार आयोडिनयुक्त नुनको आपूर्ति र वितरण प्रणालीमा साल्ट ट्रेडिङ कर्पोरेसनको भूमिका ऐतिहासिक छ । उनी भन्छन्, ‘कर्पोरेसनको चुस्त वितरण, व्यवस्थापन तथा सहज आपूर्ति प्रणालीका कारण आम जनताको सहज पहुँचमा आयोडिनयुक्त नुन पुर्याउन सरकार सफल भएको हो । सरकारले मागका आधारमा दुर्गम क्षेत्रमा नुनको आपूर्ति पनि बढाउँदै लगेको छ ।’ आव २०७०/०७१ मा दुर्गमका २२ जिल्लामा ५९ हजार ५७३ क्विन्टल नुन पुर्याइएको थियो ।
भान्साभान्सामा आयोडिनयुक्त नुन
कालिकोट तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायका अनुसार आयो नुनको पहुँच नगरवासीको भान्साभान्सासम्म पुगेको छ । उनी भन्छन्, ‘अब सहुलियत दरको नुन वितरणको जिम्मा पालिकालाई नै दिनुपर्छ । आगामी दिनमा आयोडिनयुक्त नुनको चुस्त वितरण र व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुर्गम जिल्लामा नुनको बिक्री डिपो थप गर्नुपर्छ । यसका लागि समन्वय गर्न पालिका तयार छन् ।’
तिलागुफा–१ का वडाध्यक्ष मनबहादुर बुढाका अनुसार गाउँमा ‘ढिके नुन खानु हुँदैन, यसमा आयोडिन हुँदैन’ भन्ने सचेतना बढेको छ र ढिके नुन बस्तुभाउलाई खुवाउन छाडिएको छ । उनी भन्छन्, ‘आयोडिनयुक्त नुनबारे सचेतना त पुगेको छ तर अझ सर्वसुलभ पहुँच पुग्न कठिन छ । सहुलियत दरका नुन वितरण प्रणालीलाई चुस्त बनाउनुपर्छ । यसका लागि संघीय सरकारले नुनको बिक्री डिपो थप गर्नुपर्छ ।’
सोही नगरपालिकास्थित सत्यदेवी माविका प्रधानाध्यापक सनम शाहीका अनुसार विद्यालयले समय–समयमा आयोडिन नुनको महत्वबारे विद्यार्थीलाई सचेतनाका कक्षा लिँदै आएको छ । उनी भन्छन्, ‘दुई बालबालिका चिन्ह भएको आयो नुन, भानु नुनको महत्वबारे जानकारी दिएपछि भान्सामा ढिके नुनको प्रयोग हुन छाड्यो । गाउँमा अहिले गलगाँड भएका मानिस देखिँदैनन् ।’
कालिकोट सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीका अनुसार पालिकाभित्र ढिके नुन प्रयोग गर्ने घर लगभग शून्यमा छन् । उनी भन्छन्, ‘सरकारको आयोडिनयुक्त नुनको सर्वसुलभ पहुँच आम नागरिकसम्म पुर्याउने नीति र साल्ट ट्रेडिङ कर्पोरेसनको चुस्त वितरण व्यवस्थापनका कारण भान्साभान्सामा आयोडिनयुक्त नुन पुगेको छ । तर सहुलियत दरका नुनको कोटा बढाउनुपर्छ ।’
सान्नी त्रिवेणी–९ स्थित मुम्रा स्वास्थ्य चौकीका प्रमुख धीरेन्द्र केसीका अनुसार आयोडिनयुक्त नुनको कमीले देखापर्ने गलगाँडका बिरामी गाउँमा छैनन् । उनका अनुसार शरीरमा आयोडिनको कमीले गर्भवतीमा गर्भ तुहिने, मृत शिशु जन्मने, अविकसित दिमाग भएको शिशु जन्मने र शारीरिक रूपमा विकलाङ्ग हुने जोखिम हुन्छ ।
जुम्ला चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काका अनुसार पछिल्ला समयमा ढिके नुन प्रयोग गर्ने प्रचलन लगभग अन्त्य भएको छ । उनी भन्छिन्, ‘आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्छ भन्ने सचेतना बढेको छ । तर कति मात्रामा प्रयोग गर्ने भन्नेबारे समुदायलाई थप जानकारी दिन आवश्यक छ । ग्रामीण क्षेत्रका भान्सासम्म आयो नुन पुर्याउन साल्ट ट्रेडिङ कर्पोरेसनको भूमिका प्रशंसनीय छ ।’
‘थोरै खाऔँ, मात्रा मिलाएर खाऔँ’
पछिल्लो समयमा देशभर वार्षिक दुई लाख टनभन्दा बढी आयोडिनयुक्त नुनको माग हुँदै आएको छ । यही मागअनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुनको सुलभ र सहज आपूर्ति गर्दै आएको छ । कर्पोरेसनका प्रबन्धक ब्रजेश झाका अनुसार गत आवमा कर्पोरेसनले दुई लाख १० हजार टन आयोडिनयुक्त नुन बिक्री वितरण गरेको थियो । साथै, नुन आपूर्तिमा अवरोध नआओस् भनी कर्पोरेसनले छ महिनासम्म पुग्ने नुन गोदाममा मौज्दात राख्दै आएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव पोखरेलका अनुसार आयोडिनयुक्त नुनको आपूर्ति तथा वितरणलाई साल्ट ट्रेडिङ कर्पोरेसनले चुस्त बनाएकै कारण गलगाँड निवारणमा ऐतिहासिक सफलता हासिल भएको हो । उनी भन्छन्, ‘कर्पोरेसनलाई नुनको एकाधिकार दिँदा मूल्यमा समेत सरकारले नियन्त्रण गर्न सकेको छ । सरकारकै नियन्त्रणमा भएकाले नुनको मूल्यवृद्धि हुन नपाएको हो ।’
आयोडिन शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने सूक्ष्म पोषक तत्व हो । सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्ने सन्देशसहित दुई बालबालिका अङ्कित चिन्ह भएको नुन प्रयोग गर्न आग्रह गर्दै आएको छ । नुनले थाइराइड ग्रन्थिबाट थाइराइड हर्मोन उत्पादनमा मद्दत गर्छ । यसले शरीरका कोशिकाको कार्य सुचारु राख्न, दिमागको वृद्धि तथा विकास गर्न सहयोग पुर्याउँछ । शारीरिक र मानसिक विकासका लागि आवश्यक हर्मोन उत्पादनमा पनि आयोडिन अपरिहार्य हुन्छ ।







