काठमाडौं । अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी जेसीआई (जुनियर च्याम्बर इन्टरनेशनल) यूथ अवार्डबाट सम्मानित भएका छन्।

युवामैत्री नेतृत्व, नवप्रवर्तनशील सोच र स्थानीय तहमा देखाएको प्रभावकारी कार्यसम्पादनको कदरस्वरूप जेसीआई नेपालले ५२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा तिवारीलाई उक्त अवार्ड प्रदान गरेको हो । नेपाल जेसीजले प्रत्येक बर्ष विभिन्न क्षेत्रमा अतुलनिय योगदान पुर्‍याएका युवालाई कदर स्वरुप सम्मान गर्दै आएको छ ।

तिवारी यसअघि चर्चित अनलाइन सञ्चारमाध्यम अनलाइन खबरद्वारा प्रकाशित ‘४० मुनिका ४०’ सूचीमा समेत सूचीकृत भई सम्मानित भइसकेका छन्। देशभरका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका ४० वर्षमुनिका प्रभावशाली युवाहरूलाई समेट्दै उक्त सूची सार्वजनिक गर्ने गरिन्छ ।

पहिले गुमनाम र विकासका दृष्टिले पछाडि परेको अर्जुनचौपारी गाउँपालिकालाई राष्ट्रिय स्तरमा परिचित गराउन तिवारीको नेतृत्व निर्णायक बनेको बताइन्छ। सीमित स्रोत–साधनका बाबजुद स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्यान्वयन र जनसहभागितामूलक विकास मोडेलमार्फत उनले गाउँपालिकालाई विभिन्न राष्ट्रिय सम्मान र पुरस्कारको योग्य बनाउन सफल भएका छन्।

तिवारी नेपालकै पहिलो नवग्रह मन्दिरका परिकल्पनाकारका रूपमा पनि परिचित छन्। धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनलाई एकीकृत गर्दै अघि सारिएको उक्त अवधारणाले गाउँपालिकाको पहिचान स्थापित गर्नुका साथै आन्तरिक पर्यटन विकासमा उल्लेखनीय योगदान पुर्‍याएको छ। उनको कार्यकालमा सुशासनलाई प्राथमिकतामा राख्दै प्रशासनिक पारदर्शिता, डिजिटल सेवा विस्तार र छिटोछरितो सेवा प्रवाहमा सुधार गरिएको छ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न विशेष पहल गरिएको छ भने स्वास्थ्य क्षेत्रमा आधारभूत सेवाको पहुँच विस्तार गरिएको छ। साथै, सडक, खानेपानी, भवन निर्माणलगायत भौतिक पूर्वाधार विकासमा उल्लेखनीय प्रगती भएको छ।

जेसीआई यूथ अवार्डमार्फत प्राप्त सम्मानले स्थानीय तहमा युवाको नेतृत्व, नवीन सोच र प्रतिबद्धताबाट दिगो विकास सम्भव छ भन्ने सन्देश दिएको र यस उपलब्धिलाई अर्जुनचौपारी गाउँपालिकावासीले गौरवका रूपमा लिएका छन् भने यसले अन्य युवालाई सार्वजनिक सेवामा सक्रिय हुन थप प्रेरणा दिएको अध्यक्ष तिवारीले बताए ।

तपाईको प्रतिक्रिया