काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणलाई झन् खुकुलो बनाउने भएको छ।

वडा, क्षेत्र, जिल्ला लगायतमा क्रियाशील नवीकरण केही गरी छुट भएकालाई केन्द्रीय कार्यालयले सिधै क्रियाशील सदस्यता दिनेछ।

महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आजको बैठकले क्रियाशील सदस्यता लिन छुट भएकाहरूलाई केन्द्रबाट सिधै पनि क्रियाशील दिन सक्ने निर्णय गरेको हो।

समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ का अनुसार १४ औं महाधिवेशनअघि कुनै महाधिवेशनमा क्रियाशील सदस्यता नवीकरण छुट भएका तर कांग्रेसका सिद्धान्त र आस्थामा प्रतिबद्धहरूलाई पनि क्रियाशील सदस्यता नवीकरण गरिदिने निर्णय भएको छ।

‘विदेश गएकोलगायत केही कारणले क्रियाशील सदस्यता नवीकरण छुटेको अवस्थामा नवीकरण गर्न मिल्ने निर्णय भएको छ,’उनले भने, ‘योग्यता र मापदण्ड पुगेका सबैलाई क्रियाशील सदस्यता दिन्छौं।’

उनकाअनुसार अनुशासन समितिले कारबाहीको टुंगो नलगाएकाहरूको हकमा पनि क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय भएको छ।

साथै जेनजी आन्दोलनअघि जिल्लाहरूमा २५ प्रतिशत क्रियाशील सदस्यता फारम पठाएको र कतिपय जिल्लामा फारम आगजनीमा परेको पाइएकोले ती जिल्लाका क्षेत्रीय कार्यसमितिमा पुरानो फारम स्थगित गरी नयाँ फारम पठाउने निर्णय पनि आएको उनले जानकारी दिए।

विदेशस्थित जनसम्पर्क समितिमा कसैको क्रियाशील सदस्यता नवीकरण रोकिएको भए सिधै केन्द्रीय कार्यालयमा आवेदन दिए अनलाइनबाटै क्रियाशील नवीकरण गरिदिनेसमेत निर्णय भएको छ। यसका लागि बेवसाइट बनाउने र भोलिदेखि नै काम सुरू गरिने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया