
काठमाडौं । विशेष अदालतले कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार भएको ठहर गरेको छ।
आइतबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सुर्खेत वीरेन्द्रनगरस्थित तत्कालीन क्षेत्रीय अस्पतालमा दुई शीर्षकको साढे २५ लाख रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार भएको ठहर गरेको हो।
अदालतले अस्पतालमा प्रयोगमा रहेको डल्फिन सफ्टवेयर मार्फत संकलन गरेको ३४ लाख ३ हजार ८५७ रुपैयाँ मध्ये स्वास्थ्य बिमातर्फको १ लाख ६५ हजार ४३६ रुपैयाँ ५० पैसा र साधारणतर्फ २४ लाख २ हजार ९० रुपैयाँ हिनामिना भएको ठहर गरेको छ।
स्वास्थ्य बिमातर्फको १ लाख ६५ हजार ४३६ रुपैयाँ ५० पैसा र साधारणतर्फ २४ लाख २ हजार ९० रुपैया रकम बैंक दाखिला नभएको पुष्टि भएको अदालतको ठहर छ।
अदालतको ठहर अनुसार अस्पतालमा बैंककी एक्स्टेन्सन काउन्टर इन्चार्ज गोमा सिंजाली मगरले तृप्ती शाहीलाई बैंकको काउन्टरमा अनाधिकृत प्रवेश दिई सफ्टवेयरबाट जारी भएको बिलको आधारमा उठाएको रकम अस्पतालको खातामा जम्मा नभएको पाइएको हो।
मुद्दाका प्रतिवादी शंकरप्रसाद सुवेदीले अस्पतालको लेखा अधिकृतको हैसियतमा अस्पतालका विभिन्न काउन्टरहरुबाट डल्फिन सफ्टवेयर मार्फतसमेत संकलन भएको रकम बैंक दाखिला नगराएको फैसलामा जनाइएको छ।
शाहीले अस्पतालको आधिकारीक युजरनेम र पासवर्ड प्रयोग गरी संकलन गरेको रकम कर्मचारीसँगको मिलेमतोमा हिनामिना गरेको पाइएको छ। तीनै जना प्रतिबादीलाई दोषी ठहर गर्दै पुस १८ गतेका लागि सजाय निर्धारणको पेसी तोकिएको छ।







