
काठमाडौँ । जलवायु अनुकुलित गाउँ निर्माण गर्नेबारे राष्ट्रिय सिकाई आदानप्रदान कार्यशाला भएको छ । कार्यक्रममा विज्ञ, सरोकारवाला र सहभागीहरूले जलवायु परिवर्तन, त्यसले दलित तथा सीमान्तकृत समुदायमा पारेको असर र जलवायु अनुकुलित गाउँ कसरी निर्माण गर्ने भन्नेबारे विमर्श गरेका थिए ।
दलित सेवा संघले गरेको कार्यक्रममा जलवायू विज्ञ दुर्गाप्रसाद उपाध्यायले जलवायु परिवर्तनले दलित तथा सीमान्तकृत समुदायमा पारिरहेको असर र त्यसबाट बच्ने उपायहरूबारे जानकारी गराएका थिए । उनले जलवायु परिवर्तन अब राजनीतिक र आर्थिक एजेण्डा बन्नुपर्ने बताए । ‘देशको करिब ४० लाख जनसंख्या सानो होइन, यो जनसंख्याले जलवायु परिवर्तनमा कुनै योगदान गरेको छैन, तर असर सबैभन्दा बढी यही जनसंख्यालाई परेको छ,’ उनको भनाइ छ ।
त्यस्तै, दलित सेवा संघका कार्यकारी निर्देशक टंक विश्वकर्माले संस्थाले सल्यान र दाङमा परियोजना सञ्चालनपछि जलवायु अनुकुलित गाउँ निर्माणका लागि गरेका कार्यहरूबारे जानकारी गराए ।
त्यस्तै, कृषि तथा पशुपन्छी मन्त्रालयका श्यामसुन्दर यादव र वन तथा वातावरण मन्त्रालय हिरालाल आचार्यले कार्यक्रममा प्रस्तुत दुवै कार्यपत्रमाथि टिप्पणी र जलवायु अनुकुलित गाउँ निर्माणको अवधारणाबारे सुझाव राखेका थिए ।
जलवायु परिवर्तनको असरको दर बढ्दै गएको, र त्यसबाट दलित तथा सीमान्तकृत समुदायमा सबैभन्दा बढी असर परेको सन्दर्भमा जलवायु अनुकुलित गाउँ निर्माणको अवधारणा महत्वपूर्ण रहेको संघका अध्यक्ष सञ्जुसिंह विश्वकर्माले बताए । कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतीलाल नेपाली, पूर्वअध्यक्ष गजाधर सुनार, चक्रमान विश्वकर्मा लगायतले धारणा राखेका थिए ।







