सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आइतबार अपराह्न करिब ४ः३० बजेको समयमा स्थानीय दुर्गामान बम्जनको साढे २ तले घरको बीच तल्लास्थित भान्सा कोठाभित्र पेट्रोल÷मट्टितेल छर्की आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको थियो।

आगलागीमा परी दुर्गामान बम्जनको खुट्टा र ढाड जलेको अवस्थामा उपचारका लागि सिन्धुली अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे स्थानीयबाट सूचना प्राप्त हुनासाथ अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो। सुरुमा भान्सामा आगो सल्कदा उनको मृत्यु भएको सूचना आएकोमा प्रहीले अनुसन्धान सुरु गरेपछि हत्या गरिएको पुष्टि भएको छ।

अनुसन्धानका क्रममा घटनास्थलबाट पेट्रोल भरिएको दुईवटा बोतल, जलेको अवस्थामा पेट्रोल रहेको बोतल, लाईटर तथा बाँसको भाटामा सल बेरी बनाइएको राँको पुल्ठो फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

घटनास्थल शङ्कास्पद देखिएपछि प्रहरीले मृतककी सासू माया रानी बम्जन र नन्द मीना लामा बम्जन लाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक सोधपुछका क्रममा मीना लामाले मृतक सुशीला बम्जनमाथि पेट्रोल छर्की आगो लगाएको स्वीकार गरेको प्रहरीको भनाइ छ।

यसैबीच, पुस ७ गते मृतकका बुबा हरिहरपुरगढी गाउँपालिका–४ निवासी प्रेमबहादुर घिसिङले सासू माया रानी बम्जन र नन्द मीना लामा (बम्जन) विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्। जाहेरीका आधारमा ज्यान सम्बन्धी कसूर कर्तव्य ज्यान मुद्दामा सोही दिन मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ

पक्राउ परेका दुवै प्रतिवादीलाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–४ स्थायी वतन भई हाल कमलामाई नगरपालिका–४ बस्ने ५९ वर्षीया मायारानी बम्जन र उनकी छोरी ३५ वर्षीया मीना लामा बम्जन रहेका छन्।

तपाईको प्रतिक्रिया