
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचनका लागि पार्टीभित्रै उम्मेदवारी आह्वान गरेर प्रारम्भिक निर्वाचन सञ्चालन गरिरहेको छ ।
रास्वपाको यो अभ्यास नेपाली राजनीतिक दलको परम्परागत शैलीभन्दा धेरै फरक छ । परम्परागत दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची केही नेताको कोठाभित्रबाट तय गर्छन्, खल्तीका उम्मेदवारले प्राथमिकता पाउने गरेको आरोप छ। तर रास्वपामा भने आन्तरिक लोकतान्त्रिक प्रक्रियाबाट उम्मेदवार छनोट भइरहेको छ।
यस प्रारम्भिक निर्वाचनबाट रास्वपाले यही पुस १४ गतेभित्र विभिन्न ६ वटा समावेशी क्षेत्रबाट ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । यही प्रक्रियाको दलित क्लस्टरअन्तर्गत प्रतिस्पर्धाको अन्तिम चरणमा पुगेको एक नाम हो- स्मृती सेन्चुरी । दोलखाकी सेन्चुरी जेन-जी हुन्। सेन्चुरी केवल ‘दलित कोटाबाट उठेकी उम्मेदवार’मात्र होइनन्, उनी आजको नेपाली राजनीतिले खोजिरहेको नयाँ पुस्ताको सामाजिक–राजनीतिक प्रतिनिधित्वको एउटा स्पष्ट चित्र हुन् ।
सामाजिक रूपमा विपन्न दलित समुदायबाट आएकी सेन्चुरीका लागि राजनीति कुनै आकस्मिक महत्त्वाकाङ्क्षा होइन । उनको जीवन स्वयं निरन्तर सङ्घर्ष, अध्ययन र अनुभूतिको उपज हो । समाजशास्त्र विषयको अध्ययनक्रममै उनले नेपाली समाजमा गहिरो रूपमा जरा गाडेर बसेका जातीय, लैङ्गिक र वर्गीय असमानतालाई केवल सैद्धान्तिक रूपमा होइन, व्यवहारमै बुझ्ने अवसर पाइन् । ‘दलित, महिला र युवाले अवसरबाट वञ्चित हुनु केवल तथ्य होइन, दैनिक जीवनको यथार्थ हो,’ उनी भन्छिन् । यही यथार्थले उनलाई दर्शक बनेर बस्न नसक्ने बनायो ।
स्मृतीको पहिचान केवल दलित महिला हुनुमा सीमित छैन । उनी आफूलाई गर्वका साथ ‘दोलखाकी छोरी’ भन्छिन् । दोलखाको भौगोलिक कठिनाइ, विकासको असमान पहुँच, रोजगारीको अभाव र सम्भावनाको बेवास्ता—यी सबै कुरा उनले नजिकबाट देखेकी र भोगेकी छन् । उनका लागि संसद्मा पुग्नु भनेको दोलखाको मात्र आवाज उठाउनु होइन, देशभरका दलित, महिला र युवाको साझा प्रतिनिधि बन्नु हो । उनी समानुपातिक प्रतिनिधित्वलाई पद प्राप्तिको साधन होइन, समावेशी लोकतन्त्रलाई बलियो बनाउने औजारका रूपमा हेर्छिन् ।

स्मृती सेन्चुरीसँग राजनीतिक दल छनोटको आधार स्पष्ट छ—राष्ट्रिय स्वतन्त्र पार्टी । उनका अनुसार रास्वपाले इमान्दारी र पारदर्शितालाई मूल एजेन्डा बनाएको छ, पहुँच र नातावादभन्दा योग्यता र क्षमतालाई प्राथमिकता दिएको छ, पुराना राजनीतिक अभ्यास तोड्ने साहस देखाएको छ, युवालाई केवल नारा होइन, निर्णय तहमा पुर्याउने स्पष्ट नीति लिएको छ ।
‘दलित समुदायलाई पुराना दलले मतदाता र कार्यकर्ता बनायो, तर निर्णय तहमा पुर्याएन,’ उनी भन्छिन्, ‘रास्वपाले त्यो संरचना तोड्ने सम्भावना बोकेको छ ।’ नेपाली राजनीतिमा दलित प्रतिनिधित्व प्रायः कोटा पूरा गर्ने औपचारिकतामा सीमित हुँदै आएको आरोप लाग्दै आएको छ । स्मृती सेन्चुरी भने यो सोचलाई चुनौती दिन चाहन्छिन् ।
उनको दृष्टिमा दलित प्रतिनिधित्व भनेको नीति निर्माणमा दलित दृष्टिकोण स्थापित गर्नु, हिंसा र विभेदका मुद्दामा कानुनी तथा राजनीतिक हस्तक्षेप बढाउनु, शिक्षा, रोजगारी र सामाजिक सुरक्षामा समान पहुँच सुनिश्चित गर्नु हो । स्मृतीले उठाएका प्रमुख सवाल तथा एजेन्डा स्पष्ट छन्—सामाजिक रूपमा विपन्न समुदाय अझै शिक्षा र रोजगारीबाट वञ्चित हुनु, दलितमाथि हुने हिंसा र विभेदका घटनामा न्यायिक पहुँच कमजोर हुनु, कानुन बने पनि कार्यान्वयनमा राजनीतिक हस्तक्षेप हुनु, सार्वजनिक स्रोतको दुरुपयोग र भ्रष्टाचार, दोलखाजस्ता जिल्लामा आर्थिक पुनरुत्थानको अभाव ।
स्मृती सेन्चुरी दोलखालाई केवल ‘पिछडिएको जिल्ला’का रूपमा चित्रण गर्दिनन् । उनी त्यहाँका खानी, कृषि, जडीबुटी र उत्पादन सम्भावनालाई वैज्ञानिक रूपमा उपयोग गर्नुपर्ने बताउँछिन् । स्थानीय उत्पादनमा आधारित उद्योग, सहकारी र निजी क्षेत्रको साझेदारीमार्फत रोजगारीसहितको आर्थिक पुनरुत्थान उनको प्राथमिकता हो ।

स्मृती सेन्चुरी आज रास्वपाको प्रारम्भिक निर्वाचनमा सर्वाधिक मत ल्याएर निर्वाचित हुनुपर्ने पात्रका रूपमा हेरिइरहेकी छन् । उनी केवल व्यक्तिगत योग्यताले होइन, समयको मागले अघि बढेकी पात्र हुन् । आजको जेन–जी पुस्ता नारा होइन, नीति र परिणाम खोज्छ । स्मृती त्यही पुस्ताको प्रतिनिधि हुन्, जो बोल्ने मात्र होइन, जिम्मेवारी लिन तयार छिन् ।
रास्वपाको यो प्रारम्भिक निर्वाचन केवल उम्मेदवार छनोटको प्रक्रिया होइन, यो आन्तरिक लोकतन्त्रको परीक्षा पनि हो । स्मृती सेन्चुरीजस्ता पात्र चयन भएमा रास्वपाले दलित, महिला र युवालाई केवल सूचीमा होइन, संसद्को निर्णायक आवाज बनाउने सन्देश दिनेछ ।



![फिल्म ‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’ सार्वजनिक, छमछमी नाचे सुशील र अञ्जना [भिडियो]](https://samatapress.com/wp-content/uploads/2025/12/sushil_anjana-300x200.jpg)



