
काठमाडौं। आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो रिलिज भएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरेको हो।
ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराइली छमछमी नाचेका छन्। दुवैको केमेस्ट्री मिलेको देखिन्छ। लोकल लयमा आधारित यस गीतको भिडियोमा प्रेमकथा बुनिएको छ।
निर्देशक विजय केरुङले फिल्मको गीत दर्शकले मन पराउने विश्वास व्यक्त गरे। उनले भने, ‘फिल्मको कथाअनुसारकै गीत रोजेका छौँ। गाउँघरका टिपिकल शब्दहरू गीतमा बुनिएकाले दर्शकलाई छुन्छ होला।’
यस गीतको भिडियोमा कलाकारहरूलाई नृत्य निर्देशक रामजी लामिछानेले नचाएका हुन् भने छायाङ्कन शिव ढकालले गरेका छन्। एसडी योगी र रेश्मा पुनको आवाज रहेको यस गीतको संगीत एसडी योगीकै हो। गीतका शब्द मौसम अर्यालले लेखेका हुन्।
दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीका अलावा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका रहेको छ।
एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्मलाई विजय केरुङले निर्देशन गरेका हुन्। दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका छन्। बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा द्वन्द्व निर्देशन श्री श्रेष्ठको रहेको छ।
यसअघि सार्वजनिक गरिएको टिजर र पोस्टरले दर्शकमाझ कौतूहलता बढाइसकेको यस फिल्मको वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।







