
सिराह । सिरहाको गोलबजार नगरपालिका-३ मा सकुम्बासी दलित समुदायका लागि बनाइएका नमुना घरहरू गैरदलितको कब्जामा छन्। यहाँ दलित समुदायको बसोबासको व्यवस्था गर्ने उद्देश्य थियो। तर अहिले वरपरका गैरदलित व्यक्तिहरूले नमूना बस्तीका घरहरू कब्जा गरी भैंसी, गाई, गोरुलगायतका घर पालुवा जनावर राखेका छन्। यस बस्तीमा दुई तल्लाका १५ वटा घर छन् । ती घरमा भान्सा कोठासहित कुल ९० कोठा छन् । बस्तीमा घरैपिच्छे शौचालय छन् । यतिमात्र होइन, बस्तीमा बैठकका लागि सभाहल पनि बनाइएको छ । तर, उदेकलाग्दो कुरा के भने यसमा मानिस होइन, बस्तुभाउ राखिएको छ।
यो बस्ती गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा संघीय सरकारको तराई मधेश समृद्धि कार्यक्रमको सहयोगमा २ करोड ७५ लाख खर्च गरी निर्माण गरेको थियो । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा आरसीसी सडक र घरको मर्मत सम्भार गर्ने नाममा थप ७५ लाख रकम खर्च गरेको छ । तर, सबा तीन करोड सरकारी रकम खर्च गरी बस्ती बने पनि यहाँ दलितलाई बसाउन भने ठोस पहल नै भएन । जसका कारण एकातिर नमूना बस्तीकै छेउछेउमा दलित परिवार स-साना झुप्रोमा बसेका भेटिन्छन् भने अर्कोतिर प्रयोगमा नआउँदा अलपत्र बनेका घर वरपरका गैरदलित व्यक्तिले कब्जा गरी गोठ बनाएका हुन् ।
यहाँ बस्ती बसाउन ठोस पहल नभए पनि घरवार नभएका सुकुम्बासी दलित परिवार यहाँ ओत लाग्न आउँदै नआएका भने होइनन् । तर, यहाँ बस्न आएका कतिपय दलित परिवार पनि केही समयपछि फर्केर जाने गरेका छन् । कारण हो, घर निकै कमसल ढंगले निर्माण भएको छ । बस्तीमा निर्मित घरहरूमाथि अत्यन्तै पातला जस्तापाता हालिएको छ । जसकारण सामान्य वर्षामा पनि घर चुहिन्छ । यस्तै, माथिल्लो तल्लामा हाल्नुपर्ने प्लाइवुडको फ्ल्याक पनि राखिएको छैन । जसका कारण वर्षाका बेला कोठासम्मै पानी पस्छ ।
यतिमात्र होइन, यहाँ वरपरका कतिपय उच्छृंखल व्यक्तिहरूले घरसहितका संरचनामा पटक-पटक तोडफोड गरिरहन्छन् । यो बस्तीमा दलित परिवार बस्न नमानेको अर्को कारण हो । स्थानीय विशाल सुचिकारका अनुसार यसरी बस्तीमा तोडफोड गर्ने कार्यमा घर कब्जा गर्ने गैरदलितहरू नै हुन्छन् ।’एक त यहाँ दलित बस्न मान्दैनन्, बस्न आएकालाई पनि अनेक दु:ख तकलिफ दिएर धपाउने काम भएको छ,’ सुचिकारले भने, ‘यहाँ बस्न आएका दलित भागिजाओस् भनेर तोडफोड गरिन्छ, दलितहरू डरले यहाँबाट भाग्छन् ।’ यसरी ज्यादती सहेर भए पनि अहिले दुई सुकुम्बासी दलित परिवार यहाँ अझै ओत लिएर बसेका छन् ।
जसमध्ये श्याम देवी रामको घरमा पनि गत साता तोडफोड भयो । उनी र उनका श्रीमान् रमेश राम अहिले लहानस्थित एक इट्टा भट्टामा मजदुरी गर्छन् । उनीहरूका तीन कलिला छोरी छन् । तर, गत मंगलबार आफ्नै घरमा भेटिएकी श्यामदेवीलाई राति कसरी खाना पकाउने भन्ने चिन्ताले सताइरहेको थियो । किनकि, घरमा कोही नभएको अवस्थामा ढोका नभएको भान्सा घरमा रहेको माटोको चुलो नै कसैले फुटाइदिएका थिए ।
दुई महिनाअघि झ्याल फुटाएर घरभित्र भएको दाल, चामललगायत अन्नपात पनि कसैले भुइँमा पोखिदिएको श्यामदेवीले सुनाइन् । ‘हामीले यहाँ पाउने दु:ख हजार छन्, रातको समयमा घरमा ढुंगा हान्ने काम हुन्छ, डराएर बस्छौं,’ उनले भनिन्, ‘यस्तो देख्दा यहाँ कसैलाई बस्न मन लाग्दैन, हामी आर्थिक हैसियत नभएर यहाँबाट अन्यत्र सर्न नसकेका हौं ।’
यो बस्तीमा अहिले बस्ने दुई परिवारले भोगिरहेको अर्को ठूलो समस्या खानेपानीको हो । बस्ती निर्माण गर्दा यहाँ बोरिङ पनि जडान गरिएको थियो । तर, बोरिङबाट मोटर नै चोरी भएको छ । त्यसयता यहाँ खानेपानी नै छैन । छिमेकी गाउँबाट पानी ल्याएर उनीहरू खाने गरेका छन् । नमूना बस्तीका नाममा निर्माण गरिएको यो बस्ती र बस्तीका घरहरू खण्डहर अनि कुरुप बनेका छन् । घरहरूलाई बस्तुभाउ राख्न प्रयोग गरिएका कारण भएको फोहोर एकातिर छँदैछ, अर्कोतिर बस्तीलाई झाडीले छपक्कै छोपेको छ ।
नमूना दलित बस्तीका नाममा थपी-थपी सरकारी रकम खर्च गरेको नगरपालिकाले यसलाई प्रयोगमा पनि ल्याउनुपर्छ भन्ने कुरा आवश्यक नठान्दा आज बस्ती भग्नावशेषमा परिणत भएको स्थानीय थेपा पासवान बताउँछन् । ‘सबै पैसा बर्बाद गर्ने काम मात्रै भयो, यो पनि एक किसिमको भ्रष्टाचार नै हो,’ उनले भने, ‘यसको छानबिन हुनुपर्छ ।’
स्थानीय जनप्रतिनिधि भने दलित बस्ती प्रयोगमा नआउँदै खण्डहर बन्नुमा एकले अर्कालाई दोष देखाएरै पन्छिरहेका छन् ।
आफूहरूले बस्ती बनाउने प्रयास गरे पनि एकान्त भएका कारण दलित परिवारहरू बस्न नआएको र नगरपालिकाले बेवास्ता गर्दा आज बस्तीको यस्तो हालत भएको गोलबजार-३ का वडाध्यक्ष धनप्रसाद लामाको भनाइ छ ।यो बस्ती निर्माणका नाममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । अख्तियारले बस्तीको स्थलगत निरीक्षण गरी छानबिन गरिरहेको छ ।







