नेपालगञ्ज । बास नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको छ। “हुनेबाट नहुनेलाई उपहार, न्यानो बाँडौँ, मानवता जोगाऔँ” भन्ने मूल उद्देश्यका साथ आज गुलरियाको राधाकृष्ण चोकमा एक कार्यक्रमबीच उक्त कपडा बैंकको शुभारम्भ गरिएको हो।

चिसो मौसममा कोही पनि कपडाको अभावमा पर्न नपरोस् भन्ने उद्देश्यले, सबैले सानो–सानो सहयोगमार्फत हातेमालो गरी अघि बढ्दा कठ्याङ्ग्रिने चिसो मौसममा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई सहयोग पुग्ने विश्वाससहित बास नेपाल बर्दिया शाखाका जुझारु युवाहरूले कपडा बैंक स्थापना गर्ने योजना अघि बढाएका हुन्। हुनेले आर्थिक सहयोग गर्ने तथा आर्थिक सहयोग गर्न नसक्नेहरूबाट कपडा सङ्कलन गर्दै अभियानलाई अघि बढाएका बास नेपाल बर्दिया शाखाका पदाधिकारीहरूले आज राधाकृष्ण चोकमा भव्य कार्यक्रम आयोजना गरी कपडा बैंकको शुभारम्भ गरेका हुन्।

खुमेश सुबेदी, बास नेपालका केन्द्रीय उपाध्यक्षको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा जोशिना थारु (केन्द्रीय सचिव), ईश्वर विक (केन्द्रीय सदस्य), नमस्कार शाह (कार्यकारी निर्देशक), नैन सुनार (पूर्व केन्द्रीय सदस्य), माधव कार्की (जनसम्पर्क अधिकृत) तथा मिना घर्तिमगर (प्रशासन सहायक)को उपस्थिति रहेको थियो। प्रमुख अतिथि खुमेश सुबेदीले रिबन काटेर कपडा बैंकको शुभारम्भ गर्नुभएको थियो। सो अवसरमा प्रमुख अतिथि सुबेदीबाट कपडा लिन आएका व्यक्तिहरूलाई कपडा वितरण गरिएको थियो।

कार्यक्रममा मन्तव्य राख्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले यस महान् कार्यको थालनी गरेकोमा शाखाका सम्पूर्ण पदाधिकारीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। विभिन्न पेशा–व्यवसायमा व्यस्त रहँदै पनि टिमले देखाएको अग्रसरता सधैँ कायम रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दै कपडा बैंकको स्थापना मात्र नभई यसको दीर्घकालीन व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले त्यसतर्फ पनि ध्यान दिन अनुरोध गरे। त्यस्तै, बास नेपालका पूर्व केन्द्रीय सदस्य तथा गुलरिया नगरपालिकाका कार्यपालिका सदस्य नैन सुनारले शाखाले गरेका यस्ता सामाजिक कार्यहरू सफल बनाउन सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताए।

सङ्कलन गरिएका कपडाहरू सोही अवसरमा कपडा लिन आएका व्यक्तिहरूलाई वितरण गरिएको थियो। बास नेपाल बर्दिया शाखाका अध्यक्ष राम सुनामको अध्यक्षतामा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया