
काठमाडाै । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, एयरपोर्ट नजिकै शङ्कास्पद विस्फोटक पदार्थ फेला परेको छ । स्थानीय धीरजबहादुर क्षेत्रीको घरको कम्पाउण्डमा पर्खाल लगाउन जग खन्ने क्रममा शुक्रबार साँझ बम फेला परेको हो ।
जग खन्ने क्रममा जमिन मुनि विस्फोटक पदार्थ जस्तो देखिने वस्तु भेटिएपछि स्थानीयले तत्काल सुरक्षा निकायलाई जानकारी गराएका थिए । लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाङ्गीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार फेला परेको वस्तु सकेट बम जस्तो देखिएको थियो । ‘स्थानीयको सूचना पाउनासाथ हाम्रो टोली पुगेर घटनास्थललाई सुरक्षित घेरामा राखेको छ,’ पुनले भने ।
विगतमा सशस्त्र द्वन्द्वको प्रभाव रहेको क्षेत्र भएकाले यो वस्तु द्वन्द्वकालमै छुटेको हुनसक्ने अनुमान गरिएको छ ।
यद्यपि, यसको आधिकारिक पुष्टि भने सेनाको प्राविधिक टोलीले जाँच गरेपछि मात्र हुनेछ ।







