
काठमाडौं । विशेष अदालतले टेरामक्स खरिद प्रकरणसम्वन्धी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतको आदेश झिकाएको छ।
आइतबार विशेष अदालतमा भएको सुनुवाईपछि न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले यसअघि सर्वोच्चबाट भएको आदेश पेस गर्न भनेको हो।
टेरामक्स खरिदसम्वन्धी भ्रष्टाचार प्रकरणमा कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतलगायतलाई प्रतिबादी बनाइएको छ।
बस्नेत सञ्चारमन्त्री भएका बेला नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) उपकरण खरिदमा ३ अर्ब २१ करोड ८३ लाख घोटाला गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक बर्षअघि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
दूरसञ्चार प्राधिकरणले ०७६ साल वैशाख २० गते खरिद प्रक्रिया नै रद्द गर्ने गरी भानराइज सोलुसनले सर्वोच्चमा दिएको रिटमा भएको आदेश झिकाइएको हो। आदेश प्राप्त भएपछि मात्र अन्तिम सुनुवाई हुने भएको छ।







