
काठमाडौं। नेपाल राष्ट्र बैंकले चाँदी आयातसम्बन्धी विदेशी विनिमय सटही सुविधामा संशोधन गरेको छ। राष्ट्र बैंकले आइतबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरूका लागि जारी गरेको एकीकृत परिपत्र (२०८१) संशोधन गर्दै चाँदी आयातमा लागू हुने भुक्तानी सीमा परिमार्जन गरेको हो।
संशोधित व्यवस्थाअनुसार महिनामा एकपटक मात्र चाँदी आयात गर्ने उद्योग तथा व्यवसायीलाई थप सुविधा दिएको छ। यस्तो अवस्थामा उद्योगले अधिकतम अमेरिकी डलर २० लाख र अन्य व्यवसायीले अमेरिकी डलर चार लाखसम्म सटही सुविधा लिन सक्नेछन्।
हाल सुनचाँदी व्यवसाय गर्ने उद्योगले गरगहना, कलात्मक वस्तु तथा भाँडाकुँडा उत्पादनका लागि औद्योगिक कच्चा पदार्थका रूपमा चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा पाउदै आएका छन्।
अन्य सुनचाँदी व्यवसायीले भने प्रतिपटक अमेरिकी डलर एक लाख वा सो बराबरको विदेशी मुद्रासम्म सटही सुविधा प्राप्त गर्दै आएका छन्।







