काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर सुधार अनिवार्य भएको बताएका छन्। वानेश्वर बहुमुखी क्याम्पसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्ने भएकाले त्यस क्षेत्रको सुधार अपरिहार्य भएको बताए।

शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भन्ने आफ्नो चाहना रहेको र त्यसका लागि सामुदायिक शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धिमा आफ्नो साथ रहने संयोजक प्रचण्डले स्पष्ट पारे। उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको उल्लेख गरे। सङ्कटमा परेको राष्ट्रलाई सबै मिलेर निकास दिनुपर्ने भन्दै राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको उनको भनाइ थियो।

संयोजक प्रचण्डले हालै देखिएको ‘जेनजी पुस्ताको आन्दोलन’ले युवापुस्ताको सक्रिय सहभागिताले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेको स्पष्ट भएको बताए। ‘नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम थियो, तर जेनजी आन्दोलनले त्यो गलत सावित गरिदिएको छ। नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेको छ’, उनले भने।

संयोजक प्रचण्डले सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकामा युवालाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता रहेको धारणा राखे। युवालाई आग्रह गर्दै उनले भने, ‘अब शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ।’

तपाईको प्रतिक्रिया