काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् निवर्तमान गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष ढंगले सुक्ष्म रुपमा अध्ययन गर्न जाँचबुझ आयोगलाई सुझाव दिएका छन् ।

जेनजी आन्दोलनका बेला गृह मन्त्री रहेका लेखकले सोमबार आयोगमा बयान दिँदै यस्तो सुझाव दिएका हुन्। लेखकले छानविन निष्पक्ष, वस्तुनिष्ट, तथ्यपरक र पूर्वाग्रहरहित हुनुपर्ने बताएको संचारकर्मीलाई बताए।

‘आयोगलाई पनि मैले निवेदन गरेको छु। आयोगले भदौ २३ र २४ गते भएका घटनाहरूको निष्पक्ष, वस्तुनिष्ट, तथ्यपरक, पूर्वाग्रहरहित ढंगले सम्पूर्ण कुराहरूको विश्लेषण गरेर अत्यन्त सुक्षम ढंगले अध्ययन गरेर आफ्नो प्रतिवेदन तयार गरोस्। सरकारलाई सिफारिस गरोस्,’ लेखकले भने।

लेखकले पुनः आवश्यक परेको खण्डमा फेरि पनि बयानका लागि बोलाउन समेत आयोगलाई भनेको बताए।

‘थप बुझ्नुपर्‍यो भने, जान्नपर्‍यो भने, सुन्नुपर्ने भयो भने म आउँछु । किनभने म जवाफदेहीतामा विश्वास गर्छु । प्रश्न उठ्छन् प्रश्नको जवाफ दिनुपर्छ,’उनले संचारकर्मीसँग भने।

तपाईको प्रतिक्रिया