
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउनमा सहयोग पुगेको विश्वास व्यक्त गरेका छन् ।
नेपालका आदिवासी तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको पावन अवसरमा आज उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।
उनले भनेका छन्, “यस दिनपछि दिन लामो हुँदै जाने र कृषिकर्मका लागि अनुकूल वातावरण सृजना हुने जनविश्वासले प्रकृति र जीवनशैलीबीच गहिरो सम्बन्ध उजागर गर्नमा यो पर्वले सहयोग पुग्दछ ।”
गुरुङ समुदायले पुस १५ दिन पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षलाई उल्लासपूर्वक स्वागत गर्ने परम्परा छ । यस पर्वले गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई उजागर गर्दै सामुदायिक जीवनमा नवीन ऊर्जा थप्ने कार्य गरेको उनको भनाइ छ । कृषि चक्रसँग सम्बन्धित ल्होसारलाई सूर्यको गतिसँग पनि जोडिएको मानिन्छ ।
“यस अवसरमा पूजापाठ गर्ने, रैथाने परिकार तयार गर्ने, मौलिक नाचगान गर्ने, रोधीघरमा दोहोरी गाउनेलगायत सांस्कृतिक एवं परम्परागत गतिविधि आयोजना हुनुले सामुदायिक आस्था, धार्मिक विश्वास र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न सघाउँदछ”,शुभकामना सन्देशमा भनिएको छ ।







