
काठमाडौं । जागरण मिडिया सेन्टरको २६ औँ साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सन् २००० मा दलित समुदायका सञ्चारकर्मीहरूले स्थापना गरेको संस्थाको २६ औँ साधारण सभा काठमाडौंमा आयोजना गरिएको हो। सभामा बहराइनका पूर्व राजदूत पदम सुन्दासले नेपाली समाजको रूपान्तरण, समानता र सामाजिक न्यायसँगै जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि सञ्चार वकालत गर्ने एक मात्र संस्था जागरण मिडिया सेन्टर भएको उल्लेख गरे।
उनले जागरण मिडिया सेन्टरले नेपालको लोकतान्त्रिक आन्दोलनमा मिडियामार्फत दलित अधिकार स्थापनाका लागि निरन्तर सञ्चार पैरवी गर्दै आएको र यसको योगदान स्मरणयोग्य रहेको बताए। जागरण मिडिया सेन्टरले जातीय विभेद, लैङ्गिक विभेदलगायत समाजका सबै प्रकारका विभेद अन्त्यका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको रणनीतिक अभ्यासलाई अझ गतिशील बनाउनुपर्नेमा उनले जोड दिए।
उनले यस संस्थाले बुटवलमा दलित समुदायले स्थापना गरेको दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो गत भदौ २३ र २४ गते देशभर भएका जेनजी युवाहरूको आन्दोलन र आक्रमणबाट क्षतिग्रस्त भई सञ्चालन रोकिएको बताउँदै, रेडियोलाई पुनर्जीवन दिन स्थानीय, प्रदेश र संघीय सरकारसँगै सरकारी तथा गैरसरकारी संघसंस्थासँग पहल गर्न आग्रह गरे।
जागरण मिडिया सेन्टरका संस्थापक सल्लाहकारसमेत रहेका पूर्व राजदूत सुन्दासले संस्थाको हितका लागि कुनै पनि परिस्थितिमा संस्थालाई जीवन्त बनाउन आफूले बौद्धिक तथा वैचारिक मार्गदर्शन गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताए। संविधानसभा सदस्य तथा संस्थापक सल्लाहकार विनोद पहाडीले संस्थालाई परेको आर्थिक संकट र विपत्तिमा सबैले मन खोलेर सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए।
रेडियो जागरण ९३ दशमलव ६ मेगाहर्ज जेनजी आन्दोलनको आक्रमणपछि बन्द अवस्थामा रहेकाले यसको पुनःउत्थान तथा सञ्चालनका लागि सरकार तथा दाताहरूसँग सहयोग माग्न पछि नहट्नुपर्ने उनको धारणा थियो। जागरण मिडिया सेन्टरले देशभर दलित समुदायको न्यायका लागि आवाज उठाउन सक्ने हजारौँ दक्ष दलित पत्रकार उत्पादन गरेको र उनीहरूको कार्यक्षमता तथा दक्षता अभिवृद्धि गर्ने एक मात्र सञ्चार संस्था पनि जागरण मिडिया सेन्टर नै भएको उनले बताए।
पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दी र दाताहरूको संकटको प्रभाव यस संस्थामा पनि परेकाले अब स्थानीय तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्दै दलित अधिकार स्थापनाका लागि अघि बढ्नुपर्ने धारणा उनले राखे। दलित समुदायको पत्रकार वृत्ति विकास र क्षमता अभिवृद्धिका लागि प्रदेश तहमा कार्यक्रम, छलफल र विचार गोष्ठीलाई निरन्तरता दिन सरकारसँग पहल गर्न संस्थाको नेतृत्वलाई उनले सुझाव दिए।
नेपाली समाजको जागरण र चेतनाका लागि जागरण मिडिया सेन्टरले निर्माण गरेको ‘दलन’ सिरियललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न जेनजी युवाहरूको समेत ध्यानाकर्षण गरिनुपर्नेमा उनले जोड दिए। दलित समुदायका युवा सञ्चारकर्मीहरूको पहलमा स्थापना भएको र स्थापनाकालदेखि नै विभिन्न आर्थिक अभाव, चुनौती र संघर्षसँग जुध्दै आएको यो संस्था दलित अधिकार स्थापनाको आन्दोलनको मेरुदण्ड भएको उनले बताए।
जागरण मिडिया सेन्टरका संस्थापक उपाध्यक्ष तथा सल्लाहकार कृष्ण रणपालले आगामी कार्यदिशा, संस्थागत विधि–विधान, नीति–नियम र रणनीतिलाई समयसापेक्ष बनाउँदै सामाजिक न्याय, समानता र विभेदविरुद्ध सञ्चार वकालतको गति तीव्र बनाउनुपर्नेमा जोड दिए। उनले दलित समुदायमाथि अझै पनि कतिपय स्थानमा रणनीतिक ढंगले विभेद र छुवाछूत भइरहेकाले यसको निरन्तर वकालत र पैरवी आवश्यक रहेको बताए। दलित समुदायको राजनीतिक, आर्थिक र सामाजिक सशक्तीकरणका लागि नीतिगत व्यवस्था भए पनि सहभागिता र निर्णायक भूमिका कमजोर रहेकाले वैचारिक बहस र आन्दोलनका रणनीतिक अभ्यासमा सार्वजनिक लेखाजोखा गर्नुपर्ने आवश्यकता उनले औँल्याए। संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले जागरण दलित समुदायको चेतना र अधिकारका लागि सञ्चारको धरोहर भएकाले आगामी दिनमा यसको गति बढाउन सबैसँग सहकार्य र समन्वयको सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता जनाइन्।
संस्था स्थापना भएको २५ वर्ष पूरा गरी २६ औँ वर्षमा प्रवेश गर्नु संघर्षको लामो इतिहासको संकेत भए पनि लक्ष्य प्राप्तिका लागि अझै संघर्षशील रहनुपर्ने उनले बताइन्। उनले भनिन्, “जातीय विभेद अझै संस्थागत छ, सञ्चार माध्यम अझै समावेशी छैनन् र दलित आवाज अझै पनि मुख्यधारबाट बहिष्कृत छ। यही यथार्थ परिवर्तन गर्न जागरण मिडिया सेन्टर स्थापना भएको हो।” साधारण सभाको अध्यक्षसमेत रहेकी कमला विश्वकर्माले राज्य संरचना, नीति निर्माण र सञ्चार प्रणाली अझै जातीय दृष्टिकोणबाट निर्देशित भएकाले सञ्चार माध्यममा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न जागरण मिडिया सेन्टरले निरन्तर काम गर्ने बताइन्।
उनले जागरण मिडिया सेन्टर राज्यको असमावेशी चरित्र, असमानता र विभेदको पराकाष्ठाको चिरफार गर्न सूचना उत्पादन र सम्प्रेषण गर्ने सञ्चार संस्था भएको उल्लेख गरिन्। जागरण मिडिया सेन्टरका कार्यकारी निर्देशक राजकुमार विकले राज्यले नागरिक समाज संघसंस्थामाथि नीतिगत रूपमा हस्तक्षेप गर्दा दलित तथा सीमान्तकृत समुदायको आवाज कुण्ठित हुने बताए। उनले राज्यको यस्तो हस्तक्षेपकारी भूमिकाले अन्तर्राष्ट्रिय गैरसरकारी तथा दातृ निकायको आर्थिक तथा प्राविधिक सहयोगको प्रभावकारिता घट्ने र यसले आगामी दिनमा नागरिक समाजका लागि थप चुनौती सिर्जना गर्ने उल्लेख गरे।
त्यसैले अब नागरिक समाज तथा गैरसरकारी संघसंस्थाले संस्थागत विकास र दिगोपनाका लागि आन्तरिक रणनीति बलियो बनाउँदै वैकल्पिक स्रोत–साधनको व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने उनले बताए। यसैबीच संस्थाको कार्यसमितिलाई पूर्णता दिने क्रममा महासचिवमा जगलाग नेपाली र कोषाध्यक्षमा रिंकु दास मनोनित भएका छन्।
साथै सदस्यहरूमा पुरन दर्नाल र रूपा गहतराज पनि मनोनित भएका छन्। २६ औँ साधारण सभामा संस्थाको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा संस्थागत रणनीति र नीति–नियमलगायत विभिन्न एजेन्डामाथि छलफल भएको थियो। साधारण सभामा संस्थाका साधारण सदस्य तथा सहभागीहरूले रेडियो जागरण र ‘दलन’ सिरियलको लोकप्रियता र योगदानको चर्चा गर्दै जागरणको आगामी कार्यदिशा, संस्थागत दिगोपन र विकासका लागि उज्ज्वल भविष्यको कामना गरे।







