विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमै धाँधलीमुक्त र भयमुक्त निर्वाचन सम्पन्न गराउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्।

सरकार गठनको सय दिन पूरा भइसकेको उल्लेख गर्दै उनले सुरक्षा चुनौतीका बाबजुद निर्वाचनको वातावरण बनाउन सर्वपक्षीय छलफलमार्फत् आवश्यक तयारी अघि बढिरहेको जानकारी दिए।

कोशी प्रदेशस्तरीय सुरक्षा बैठकमा बुधबार बोल्दै गृहमन्त्री अर्यालले घाइते भएकाहरूलाई मासिक भत्ता वितरण गर्ने, सुरक्षा मनोबल मजबुत बनाउने र आवधिक निर्वाचनलाई सुशासनको आधार मानेर सरकार अघि बढिरहेको स्पष्ट पारे।

‘सुरक्षा मनोबल कमजोर हुँदा समग्र राज्य संयन्त्रको मनोबल घट्छ,’ उनले भने, ‘त्यसैले सुरक्षालाई प्राथमिकतामा राखेर निर्वाचन सुनिश्चित गर्ने हाम्रो लक्ष्य हो।’ बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हालैका राजनीतिक तथा सामाजिक घटनाक्रमप्रति कडा टिप्पणी गर्दै भदौ २३ र २४ गतेलाई नेपालको इतिहासमा ‘विध्वंस’को संज्ञा दिए। उनले पछिल्लो समय देखिएको जेन–जी आन्दोलनलाई सुधारमुखी नभई विनाशकारी गतिविधिका रूपमा व्याख्या गरे।

मुख्यमन्त्री कार्कीले गृहमन्त्री अर्याललाई लक्षित गर्दै उनलाई ‘कार्यकर्ता’को संज्ञा दिँदै आफ्नो विद्यार्थी राजनीतिका दिन स्मरण गरे। ‘२०५० सालमा ल क्याम्पस पढ्न आउँदा हामीले उहाँलाई स्वागत गरेका थियौँ, तर आज जिम्मेवारी फरक छ,’ उनले भने। हिजोको राजनीतिक व्यवस्था र आजको सरकारबीच ‘आकाश–पाताल’को फरक रहेको उनको दाबी थियो।

प्रधानमन्त्री सुशीला कार्कीलाई ‘गुरुआमा’ भन्दै मुख्यमन्त्री कार्कीले वर्तमान सरकार पूर्णतः गैरदलीय भएको जिकिर गरे। सरकारको एकमात्र म्यान्डेट निर्वाचन गराउनु भएको भन्दै त्यसतर्फ मात्र केन्द्रित हुनुपर्ने उनको सुझाव थियो।

‘काँधमा राष्ट्रिय झण्डा बोकेर देश जलाउन खोज्नेहरू सक्रिय छन्,’ उनले भने, ‘परिस्थिति यस्तो थियो कि हामी भाग्नुपर्ने अवस्था आयो, झन्डै–झन्डै भाग्यौँ पनि।’

 

निर्वाचनको विषयमा आशंका व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बाँकी ६४ दिनमा चुनाव हुने सम्भावना न्यून रहेको बताए। उम्मेदवार हुन नदिने, धम्की दिने जस्ता गतिविधिले चुनावी वातावरण बिग्रिएको उनको तर्क थियो। साथै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान लिने प्रक्रिया ‘गलत र पूर्वाग्रही’ भएको उनले बताए।

सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगप्रति पनि मुख्यमन्त्रीले अविश्वास व्यक्त गरे। ‘गौरीबहादुर कार्की कता हुनुहुन्थ्यो भन्ने सबैलाई थाहा छ,’ उनले भने, ‘उहाँको सामाजिक सञ्जाल हेर्दा नतिजा कस्तो आउला भन्ने स्पष्ट हुन्छ।’

बैठकमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले सुरक्षा अवस्थाबारे जानकारी गराउँदै लुटिएका हतियार निर्वाचनमा दुरुपयोग हुन सक्ने खतरा औँल्याए। भागेका कैदीबन्दी र सवारीसाधनको स्वामित्वका विषयमा संघीय सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो।

मन्त्री भण्डारीले सुशासनको क्षेत्रमा अपेक्षित सुधार नआएको, सडकमा गैरकानुनी असुली बढेको र यसबाट विशेषगरी भारतीय पर्यटक प्रभावित भएको भन्दै पर्यटन क्षेत्रमा नकारात्मक असर परेकोप्रति चिन्ता व्यक्त गरे। बैठकमा कोशी प्रदेशका १४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।

तपाईको प्रतिक्रिया