
काठमाडौं । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा तत्कालिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ।
न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले केही बेरअघि थुनामा पठाउने आदेश दिएको हो। अहिले गुप्तालाई कारागार चलान गर्न कागजी प्रक्रिया अघि बढाइएको छ।
तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
गत असोज २२ गते पूर्वमन्त्री गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो। भ्रष्टाचार प्रकरणमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्व मन्त्री रञ्जिता श्रेष्ठ समेत मुछिएकी थिइन्।
उक्त प्रकरणमा आजै थुनछेक बहस सकिएको थियो। गुप्ता र श्रेष्ठबिचको अडिओ बाहिरिएपछि अख्तियारले अनुसन्धान शुरु गरेको थियो।







