कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले दलित समावेशीतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्। परियार विद्यार्थी संघको सदस्य भएर २०४६ को जनआन्दोलनमा सहभागी भएका थिए। ०४८ देखि ०५४ सम्म उनी नेविसंघबाट राजनीतिमा सक्रिय रहे। २०५५ सालमा नेपाल दलित संघ कास्कीको संस्थापक सचिव बने। त्यस्तै, उनी पछिल्लो ११ वर्षदेखि कांग्रेस केन्द्रीय समितिमा छन्। यो बीचमा उनी समानुपातिकबाट सभासद् पनि भए। समावेशीका विभिन्न क्लस्टरबाट एउटै अनुहार दोहोरिएको आवाज एकातिर छ।  नेता परियारसँगको कुराकानी । 

नेपाली कांग्रेसको इतिहासमा दलित सहभागिताको पृष्ठभूमि अलिकति प्रस्ट्याउनुहुन्थ्यो कि?

२००३ सालमा कलकत्तामा बिपी कोइरालाले ‘नेपाली राष्ट्रिय कांग्रेस’को स्थापना गर्नुभयो। त्यो पार्टी नेपालमा जहाँनियाँ राणाशासन हटाउने उद्देश्यसाथ स्थापना भएको थियो। त्यसको संस्थापक सदस्यमा देवव्रत परियार हुनुहुन्थ्यो। २००५ सालमा सुवर्णशमशेरले ‘नेपाली प्रजातान्त्रिक कांग्रेस’को स्थापना गर्नुभयो, जसको १२ संस्थापक सदस्यमध्ये एक हुुनुहुन्थ्यो– आरबी गहतराज। पछि २००६ सालमा यी दुवै पार्टीबीच एकता भई नेपाली कांग्रेस बन्यो।

यसरी यो पार्टीको स्थापना कालदेखि नै संस्थापक सदस्यमा दलित हुनुहुन्थ्यो। २००९ सालमा नेपाली कांग्रेसको पाँचौं राष्ट्रिय महाधिवेशन जनकपुरमा सम्पन्न भयो। त्यतिबेला बिपी कोइराला सभापतिमा निर्वाचित हुनुभयो। त्यसपछिको दोस्रो ठूलो पद भनेको महामन्त्री थियो, जसमा बिपी कोइरालाले धनमानसिंह परियारलाई महामन्त्री बनाउनुभयो। २००९–२०१४ सालसम्म धनमानसिंह परियार कार्यसमिति सदस्य भएको देखिन्छ। त्यसपछिको लामै समय पार्टीको उच्च पदमा दलित समुदायको उपस्थिति शून्य रह्यो, पछि ११औं महाधिवेशनबाट मात्रै दलितको सहभागिता भयो।

अहिले १४औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय समितिमा चार महिलासहित नौ केन्द्रीय सदस्य र एक सहमहामन्त्री दलित समुदायबाट निर्वाचित हुने व्यवस्था गरेको छ।

कांग्रेसले आफ्नो विधानबाटै समावेशीको नीति लिएको छ, एकातिर खुलाबाट पैसा र सामाजिक विरासत भएकाहरू छानिएका छन्, अर्काेतिर समावेशीका नाममा पहुँचवाला नै घुसिरहेका छन्, तपाईंको विचारमा पार्टी र तीनै तहको निर्वाचनमै स्वच्छ जनप्रतिनिधि छान्न के गर्न सकिएला?

कुनै पनि राजनीतिक पार्टीमा व्यक्तिले नेतृत्व पाउन वा कुनै जिम्मेवारीमा आउन उसको विगतको योगदान र उसले निर्वाह गरेका भूमिकाको मूल्यांकन हुन्छ। हाम्रो पार्टीमा यही आधारमा प्रतिनिधिले भोट हालेर व्यक्ति छानिने हो। यसमा पहुँचवाला भन्ने हुँदैन। कार्यकर्ताले वा महाधिवेशन प्रतिनिधिले विश्वास गरेर, जिम्मेवारी दिएर, प्रतिस्पर्धा गरेर आउने हो। त्यसैले यसमा पहुँचवाला भन्ने हुँदैन।

तपाईं ११ वर्ष कांग्रेसको केन्द्रीय सदस्य हुनुभयो? अहिले सहमहामन्त्रीमा दलित कोटाबाट तपाईंको उम्मेदवारी पर्नु कतिको न्यायसंगत छ?

म दुई कार्यकाल (१२ र १३औं महाधिवेशनबाट) निर्वाचित भएर ११ वर्षसम्म केन्द्रीय समितिमा रहेँ। यही अनुभवले मैले सहमहामन्त्रीको जिम्मेवारी निभाउन सक्छु। त्यसैले उम्मेदवारी दिएको हुँ।

पार्टीको पदाधिकारी भइसकेपछि पार्टीलाई अझ सशक्त बनाउने, अन्य पार्टीभन्दा पृथक् बनाउने, देश र जनताको निमित्त काम गर्ने हो। नेपाली कांग्रेस यस्तो पार्टी हो, जसको स्थापना नै नेपालमा राणाशासन हटाएर प्रजातन्त्र स्थापना गर्न र देशमा व्याप्त कुरीति, कुसंस्कारको अन्त्य गर्ने उद्देश्यले भएको थियो। देशमा अझै पनि कुरीति र कुसंस्कार कायम छन्। त्यसको अन्त्यका लागि सामाजिक रूपान्तरणको आन्दोलनलाई अझ सशक्त बनाउन भूमिका खेल्छु भन्ने मेरो प्रतिबद्धता हो।

सहमहामन्त्रीका लागि दलितकोटाबाटै लड्नुपर्छ। किनभने सहमहामन्त्रीमा खुलाबाट लड्ने व्यवस्था छैन। मैले खसआर्य, महिला, जनजातिबाट लड्न मिल्दैन। सहमहामन्त्री पद पहिलोपल्ट बनाइएको हो। त्यसकारण यही पदमा लड्नुपर्ने मेरो बाध्यता हो।

दलित कोटामा पटक–पटक एउटै मान्छे दोहोरियो भन्ने आवाज उठ्न थालेको छ। यसरी दलित कोटाबाटै राजनीतिमा स्थापित भएका व्यक्तिका श्रीमती, छोराछोरीले पनि कोटा नै लिएको अवस्था छ। बाबुले पार्टी र राज्यबाट कोटा सुविधा लिएपछि उसका छोराछोरीले नपाउने व्यवस्था गर्न सकिँदैन? यसमा के भन्नुहुन्छ?

अब एउटै व्यक्ति त्यही पदमा लड्नु हुँदैन भन्ने कुरामा म सहमत छु। तर, राजनीति कुनै लाभदायी पेसा होइन। तलब आउँदैन, भत्ता आउँदैन। पार्टीभित्रको जिम्मेवारी पूरा गर्ने हो। तपाईंले हेर्नुहुन्छ भने पुष्पकमल दाहाल (प्रचण्ड) ३० वर्षदेखि अध्यक्ष हुनुहुन्छ। उदाहरणका लागि नेपाली कांग्रेसमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल ३०औं वर्षदेखि केन्द्रीय कमिटीमा हुनुहुन्छ। खुला कोटाबाटै हुनुहुन्छ। त्यसकारण पार्टीमा जिम्मेवारी लिने भन्ने कुरा ठाउँ भएसम्म खुलामा लड्न पनि सकिन्छ।

म उमेरले ४८ पुगेँ। मैले पार्टीको लागि आफ्नो जीवन नै समर्पण गरेको छु। जिम्मेवारी पाएदेखि नेपाली कांग्रेस पार्टीको उद्देश्य पूरा गर्न हरपल खटिने मेरो प्रतिबद्धता छ।

तपाईको प्रतिक्रिया