काठमाडौं । आफूले गर्दै नगरेको अपराधमा दोषी ठहर भएर कारागार चलान भएका सुनसरी इटहरीका लालबहादुर विक बुधबार ७ महिनापछि अदालतबाट सफाई पाएर जेलमुक्त भएका छन् ।

आफूले काम गर्ने ज्वेलर्सका साहुले गरेको बदमासीको बोझ आफ्नो टाउकोमा आइलागेपछि जेल जानुपर्ने अवस्थामा पुगेका उनी उच्च अदालतको फैसलाले बाहिर आएका हुन् ।

ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले मंगलबार लालबहादुरलाई सफाइ दिएको हो। उच्चका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको आदेश उल्ट्याउँदै सफाइ दिएपछि उनी बुधबार जेलमुक्त भएका हुन् ।

उनी जेलबाहिर निस्कँदा परिवार, आफन्जन तथा शुभचिन्तकहरूले स्वागत गर्दै खुसीयाली मनाए। सुनसरीको इटहरी तरहरास्थित सिंहदेवी ज्वेलर्समा कामदारको रूपमा कार्यरत लालबहादुरलाई मालिक दीपक परियारले गरेको ठगीमा जिल्ला अदालत सुनसरीले ३ करोडभन्दा बढी रकम बिगो भराउन आदेश दिएको थियो। निर्दोष रहेपनि उनलाई ३ वर्षको जेल सजाय तोकिएको थियो।

जिल्लाले गरेको फैसलाविरूद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए। उच्चले जिल्ला अदालत सुनसरीको आदेश उल्ट्याएर उनलाई थुनामुक्त गरेको हो।

छोरालाई लिन लालबहादुरका ७० वर्षीय बुवा हर्कबहादुर र ६८ वर्षीया आमा सीता पनि झुम्का कारागार पुगेका थिए। पत्नी दिलकुमारी र उनका अन्य आफन्तले फूलमाला र अबिर लगाएर उनको स्वागत गरेका थिए।

२०७५ असार २० मा बचतकर्ता सुकमित गुरूङसहित नौ जनाले २०७२ सालदेखि इटहरी तरहरामा सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्सविरूद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए।

अदालतमा २७५ जनाले १० हजारदेखि १० लाख रुपैयाँसम्म ठगी गरेको भन्दै मुद्दा दिएका थिए। उजुरीमा अढाइ वर्षदेखि ज्वेलर्समा कालिगढका रूपमा कार्यरत लालबहादुर विश्वकर्मालाई पनि विपक्षी बनाइएको थियो।

२०७८ पुस १९ गते सुनसरी जिल्ला अदालतले ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेरसहित सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा, कमल विश्वकर्मा र लालबहादुरविरूद्ध १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम गरेको थियो।

जसमा लालबहादुरलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो र ७० हजार जरिमानासहित तीन वर्ष जेल सजाय सुनाइएको थियो।

लालबहादुरबाट आफूहरू ठगिएको होइन भनेर सबैजसो पीडितले बकपत्र गरेका थिए। तर, सुनसरी जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाले लालबहादुरलाई करोडौं विगो तोकेर जेल पठाउने आदेश गरेकी थिइन्।

जिल्लाले गरेको फैसलाविरूद्ध आफू निर्दोष रहेको बताउँदै लालबहादुर उच्च अदालत गएका थिए। यसरी साहुको बदमासीका कारण जेल परेका लालबहादुरलाई न्याय चाहियो भन्दै गत वर्ष हिउँदमा सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा ‘जस्टिस फर लालबहादुर विक’ अभियान चलेको थियो।

तपाईको प्रतिक्रिया