धरान। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सोमबार साँझ सामाजिक संजालमा लेखे, ‘धरानमा शान्ति छ ! शान्ति विथोलिन कहिल्यै दिइने छैन ।’
नगर प्रमुख साम्पाङले लेखेजस्तै शनिबार निषेधाज्ञा जारी गरिएको धरान शान्त छ । धरानका बारेमा उठेको बहसले अहिले देश अशान्त जस्तै बनेको छ । सामाजिक सन्जाल त्यही चर्चाले झन् धेरै अशान्त देखिन्छ । तर धरानमा भने कुनै खैलाबैला छैन। शान्ति छ ।
मेयर साम्पाङले सामाजिक सन्जालमै लेखेर त्यही कुरा भनिरहेका छन् । उग्र बन्दै गएको धार्मिक र जातीय द्वन्द्वका संकेतहरु मत्थर भइरहेका छन् । अहिले चर्को स्वरमा मानिसहरु सडकमा कराएको वा सामाजिक संजालमा धरानकै विषयलाई लिएर भइरहेका चर्चा र बहस पनि सेलाउँदै गएको छ । ‘धरान शान्त छ । त्यहाँ परस्पर विवाद ल्याउने खालका कुनै गतिविधि भएको छैन,’ सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले भने, ‘आत्तिनु पर्ने कुनै अवस्था छैन ।’
उनले भनेजस्तै जातजाति र धर्मको विषयमा भइरहेका विवादहरु पनि शान्त भइरहेको छ । ‘अहिले त्यस्तो केही छैन, सहज अवस्था छ । धरानमा त्यस्तो हुनुपर्ने कारण पनि केही छैन,’ धरान उपमहानगरपालिका पूर्व प्रमुख तिलक राईले भने । दन्तकाली मन्दिरका पूजारी कमल भट्टराईले पनि अहिले अवस्था समान्य रहेको बताए । ‘अब त्यही विवाद बल्झिने अवस्था देखिँदैन,’ उनले भने, ‘धरानमा केही घुसपैठ भएको थियो । तिनीहरु साइड लागिसके । अहिले शान्त छ ।’
गत शनिबार कोशी प्रदेशमा मात्रै होइन धरानले देशभरको ध्यान खिचेको थियो । गोरु काटेर मासु खाएको भन्दै सामाजिक संजालमा भिडियो पोष्ट भएपछि हिन्दुवादीहरु आक्रोशित बनेका थिए । विभिन्न हिन्दुवादी धर्मगुरुहरुले शनिबार धरान जाऔं भन्ने नारा लगाउँदै देशव्यापी आव्हान गरेका थिए भने केही आदिवासी जनजाति व्यक्तिहरुले हिन्दुहरुले प्रदर्शन गरे प्रतिकार गर्ने चेतावी दिएका थिए । त्यसपछि त्यहाँको अवस्थालाई लिएर चिन्ता व्यक्त गरिएको थियो । यद्यपि स्थानीय प्रशासनले शनिबार दिनभर निषेधाज्ञा जारी गरेर अवस्थालाई सामान्य बनाएको थियो ।
प्रहरी प्रशासनले मोरङ, झापा, पहाडी जिल्ला धनकुटालगायतका नाकाबाट प्रदर्शनमा आउन रोक लगाएको थियो । प्रशासनको आग्रहलाई मान्दै हिन्दुवादीहरुले पनि जबर्जस्ती गरेको देखिएन । प्रहरीले शनिबारको सम्भावित अप्रिय कदमलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा गरेको थियो । उक्त दिनको अवस्था त्रासमय जस्तो देखिएपनि अहिले त्यस्तो नरहेको स्थानीय बताउँछन् ।