तेह्रथुम । आठराई गाउँपालिका-५ छातेढुंगास्थित पोखरी माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ । विद्यालयको पूरानो भवन क्षतिग्रस्त भएपछि नयाँ भवन निर्माण नहुँदा विद्यालयको पठनपाठनमा समेत प्रभावित छ ।
भवन नहुँदा विद्यालयको प्रशासनिक तथा शैक्षिक कार्यक्रमहरू प्रभावित हुँदै आएका छन् । ह्युमन पीस फाउण्डेसनको सहयोगमा गाउँपालिका क्षेत्रभित्र ७ वटा सामुदायिक विद्यालय र एक क्याम्पस गरी आठ शैक्षिक संस्थाको भवन निर्माण गर्ने कार्यक्रमअन्तर्गत यो वर्ष पहिलो चरणमा पोखरी माविको भवन निर्माणका लागि सम्झौता भएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए ।
विद्यालयको भवन निर्माणका लागि गाउँपालिकाले २० प्रतिशत लागत साझेदारी गर्नेछ भने अन्य बजेट फाउण्डेसनले सहयोग गर्नेछ । आगामी आठ महिनाभित्र निर्माण गर्ने गरी भवन निर्माणका लागि सम्झौता भएको अध्यक्ष पाहिमले बताए ।
भवन निर्माणका सम्बन्धमा गाउँपालिकाका अध्यक्ष पाहिम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजमान कन्दङवा र फाउण्डेसनबीच सम्झौता भएको छ । अध्यक्ष पाहिमले फाउण्डेसनको सहयोगमा पालिका क्षेत्रका आठ शैक्षिक संस्थाको भवन निर्माण हुन लागेको भन्दै खुसी व्यक्त गरे ।